काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिहनुभएको समयमा प्रधानमन्त्री वालेन्द्र शाह बैठकबाट बाहिरिनुभएको विषयमा जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेसका सांसद आसनमा उभिएपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिनुभएको थियो ।
प्रमुख सचेतक थापाले भन्नुभयो, “राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो, यसबारेमा सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो ।”
साथै उहाँले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।


