तानसेन (पाल्पा) । अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ ।
मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे साधनको सवारी चालक अनुमतिपत्र वितरण सेवा दिन थालेको हो । सो सेवा प्रवाह हुन थालेपछि उक्त कार्यका लागि बुटवल, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
सेवा थप भएसँगै हलुका सवारीसाधन चारपाङ्ग्रे (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (र्ट्याक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख टीकाराम न्यौपानेले जानकारी गराए । ‘लाइसेन्सका लागि मङ्गलबारदेखि अनलाइन आवेदन फाराम खुला गरेका छौँ, छिट्टै लिखित परीक्षा लिइ ट्रायल (परीक्षण) लिन सुरु गर्नेछौँ,’ उनले भने । विसं २०७५ मा स्थापना भएको कार्यालयले ब्लुबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरण सेवा दिँदै आएको छ ।
यातायात कार्यालयबाट छिटो लाइसेन्स प्राप्त हुन थालेपछि ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा कमी आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काले जनाए ।


