काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । रास्वपाले पार्टीभित्र उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको जनाएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछाने समक्ष उम्मेदवार छनौट रुपरेखा निर्माण समितिको तर्फबाट हस्तान्तरण गरिएको थियो ।
पार्टीले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको हो । त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ । उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन् । त्यस्तै रास्वपाले अहिलेबाटै आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको हो। २०७९ वैशाखमा भएको स्थानीय चुनावको पाँच वर्षे कार्यकाल २०८४ सालमा पूरा हुँदैछ ।


