काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेको निजी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश रहेको र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक रहेको समेत गोरले जनाएका छन् । यससाथै गोरले नयाँ सरकारसँग नजिकबाट काम गर्न तत्पर रहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेट्न पाउँदा खुशी लाग्यो । नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्। हामी नजिकबाट काम गर्न तत्पर छौं।’
गोर बिहीबार नेपाल आइपुगेका थिए । उनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेका थिए ।


