काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र युएईको खेल वर्षाका कारण रोकिएपछि ओभर घटाइएको छ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित बनेको हो।
दीपेन्द्र सिंह ऐरीको शतकप्रेरित प्रदर्शनमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको थियो। तर जवाफी व्याटिङ गरिरहेको युएईले ४.१ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
वर्षाले खेल प्रभावित भएपछि ३८ ओभर झारेर २५५ रनको लक्ष्य दिइएको छ। अहिले युएईले जवाफी व्याटिङ थालेको छ। यो खबर तयार पार्दासम्म युएईले ७ ओभरमा १ विकेट गुमाएर ५० रन जोडेको छ। यसअघि टस जितेर पहिले व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। नेपालका दीपेन्द्रले सर्वाधिक १०० रन बनाए। ९४ बलको सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, नेपालका ओपनर बिनोद भण्डारी ५६ रनमा पेभिलियन फर्किए। उक्त इनिङ्समा उनले ७ चौका प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका अर्जुन कुमाल ११ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ३९ रनमा मैदानबाट बाहिरिए। यूएईका लागि अजय कुमारले २ विकेट लिए।


