काठमाडौं । काठमाडौंको टोखा-९ को गोंगबुँ दीपज्योतीमा अवस्थित मुक्तेश्वर महादेवको मन्दिरको प्रांगणमा स्थापना गरिएको गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठान गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।
गोंगबुँ भैरव संरक्षण तथा व्यवस्थापन मूल समिति टोखा-९ गोंगबुँको आयोजनामा सो कार्य सम्पन्न गरिएको हो । बौद्ध धर्मका गुभाजु सुरेश बज्राचार्यले तान्त्रिक विधिद्धारा गौतम बुद्ध र भैरवको मूर्तीको प्राण प्रतिष्ठापन गरेका हुन् ।
प्राण प्रतिष्ठान समारोहमा पूर्णनारायण मानन्धर तथा श्रीमती सानुनानी मानन्धर र रविन मानन्धर तथा श्रीमती कल्याणी श्रेष्ठले कर्ताको भूमिका निभाएका थिए ।
कुमार रंजितको संयोजकत्वमा गोंगबुँ भैरवको मूर्ती निर्माण भएको थियो । सोही समितिको सकृयतामा निर्माण गरिएको मूर्तीको आज एक समारोहका बीच प्राण प्रतिष्ठान गरिएको हो ।
यस कार्यमा स्थानीय समाजसेवी तथा संस्कृतिकर्मी रत्नप्रसाद अनामणि श्रेष्ठ लगायतले सो कार्यक्रमको व्यवस्थापन तथा सहजीकरणको भूमिका निभाए थिए । प्राण प्रतिष्ठान समारोहपछि समयबजी प्रसाद ग्रहण गरि कार्यक्रमको समापन गरिएको छ ।


