विराटनगर । चट्याङले लागेर घाइते भएकी मोरङ धनपालथान गाँउपालिकाकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार गाँउपालिकाकी ३० वर्षीया भाल्सादेवी ऋषिदेवको सोमबार बिहान मृत्यु भएको हो ।
आइतबार बिहान घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी ऋषिदेवलाई तत्कालै उपचारका लागि विराटनगर ल्याइएको थियो ।
प्रहरी निरीक्षक दाहालका अनुसार विराटनगरको श्री अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा ऋषिदेवको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।
अस्पतालबाट डिस्चार्जगरि घर पुराइएकी ऋषिदेवको सोमबार बिहान मृत्यु भएको हो । प्रहरी निरीक्षक दाहालका अनुसार ऋषिदेवको मृत्युबारे परिवारले इलाका प्रहरी कार्यालय रंगेलीलाई बिहान करिब ६ बजेतिर जानकारी गराएका थिए ।

