काठमाडाैं । एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले मिति २०८३ वैशाख ११ गतेदेखि १३ गतेसम्म कास्की जिल्लाको पोखरामा युथ मेलाको १८ औं संस्करण आयोजना गर्दैछ। तीन दिनसम्म चल्ने यस राष्ट्रिय युथ मेलामा एम्नेस्टी नेपालमा आबद्ध विभिन्न युवा सञ्जाल, समूह र व्यक्तिगत सदस्यताको प्रतिनिधित्व गर्दै नेपालभरका १०० भन्दा बढी २५ वर्षमुनिका युवा सदस्यहरूले सहभागिता जनाउनेछन्।
मानवअधिकार अभियानमा युवा नेतृत्वलाई प्रोत्साहित गर्ने प्रतिबद्धताबाट निर्देशित हुँदै यस वर्षको युथ मेला “जलवायु न्याय र नागरिक स्वतन्त्रता: न्यायपूर्ण भविष्यका लागि युवाको सरोकार” भन्ने विषयवस्तुमा केन्द्रित हुनेछ। अन्तरक्रियात्मक सत्रहरू र कार्यशालामार्फत सहभागीहरूले मानवअधिकारसम्बन्धी आफ्नो बुझाइलाई सुदृढ गर्नेछन् र जलवायु न्याय तथा सङ्कुचित हुँदै गएको नागरिक स्थल लगायतका महत्त्वपूर्ण मुद्दाहरूको सम्बोधनका लागि व्यावहारिक पैरवी सीप हाँसिल गर्नेछन्।
मेलाको सुरुवात एलजिबिटिआइक्यू+ र जलवायु मुद्दाहरूमा डिजिटल स्पेसमा चिनिनुभएका अग्रणी आवाज लेक्स लिम्बु र जलवायु परिवर्तन तथा जेन-जेड अभियन्ता मोनिशा चौधरीको किनोट संबोधनबाट हुनेछ। तीन दिन अवधिको कार्यक्रममा युवा नेतृत्वमा भएको विरोध प्रदर्शन, जलवायु संकट, डिजिटल अधिकार, संक्रमणकालीन न्याय र एलजिबिटिक्यूआई+ व्यक्तिका अधिकार लगायत नेपालमा विकसित हुँदै गैरहेको मानवअधिकार परिदृश्यसँग सम्बन्धित हुनेछ। बेवारिसे रूपमा राखिएको बम विस्फोटमा परी आफ्ना दुवै हात गुमाई अपाङ्गता भएको व्यक्ति बन्नुभएका द्वन्द्वपीडित सुरेन्द्र खत्रीले विक्रम संवत् २०५२ देखि २०६२ बीच चलेको नेपालको आन्तरिक सशस्त्र द्वन्द्वबाट भएका मानवअधिकार प्रभावहरूको बारेमा एक सत्रको नेतृत्व गर्नेछन्।
यस कार्यक्रममा इरानमा जारी द्वन्द्वमा केन्द्रित हुँदै मध्यपूर्वमा चलिरहेको मानवअधिकार सङ्कटतर्फ ध्यान आकर्षित गर्ने गरी एउटा सार्वजनिक एक्सन पनि आयोजना गरिनेछ। एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी अडान अनुरूप एक्सनले गैरसैनिकहरूको सुरक्षा, अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनको पालना, सबै पक्षहरूद्वारा उल्लङ्घनको लागि जवाफदेहिता र द्वन्द्वको बीचमा मौलिक स्वतन्त्रताको रक्षाको लागि आह्वान गर्नेछ।
पृष्ठभूमि
सन् २००६ देखि एम्नेस्टी इन्टरनेसनल नेपालले युवा अभियन्ताहरूको शिक्षा, प्रेरणा एवं परिचालनको एउटा मञ्चको रूपमा युथ मेलालाई आयोजना गर्दै आइरहेको छ। नेपालभरीका ५० वटा युथ नेटवर्क र समूहहरूबाट वार्षिक रूपमा १०० जना भन्दा बढी सहभागीहरू भेला हुने यस युवाहरू लक्षित एउटा महत्त्वपूर्ण कार्यक्रममा हालसम्म १,५०० भन्दा धेरै युवाहरूले सहभागिता जनाएका छन्।
एम्नेस्टी इन्टरनेसनल नेपाल एक करोड सदस्य एवं समर्थकहरू भएको विश्वव्यापी अभियानको एक हिस्सा हो र यो सन् १९६९ देखि नेपालमा कार्यरत छ। अहिले एम्नेस्टी नेपालमा नेपालभरीबाट करिब ६,००० जना सदस्यका रूपमा आबद्ध रहनुभएको छ। आप्रवासी श्रमिक, द्वन्द्वपीडि, महिला, दलित, यौनिक अल्पसङ्ख्यक लगायत अन्य सीमान्तकृत समुदायहरूको अधिकारको वकालत गर्दै यस संस्थाले नेपालमा मानवअधिकारको प्रवर्धन र संरक्षणका लागि कार्य गर्दछ ।


