नेपालको अर्थतन्त्र यतिबेला बहुआयामिक दबाबमा छ, घट्दो राजस्व, बढ्दो आयात, सीमित निर्यात र वैदेशिक ऋणमा बढ्दो निर्भरता । यस्ता चुनौतीपूर्ण परिस्थितिमा सरकारले ‘डायस्पोरा बण्ड’ जारी गर्ने घोषणा गर्नु केवल वैकल्पिक स्रोत खोजी मात्र होइन, आर्थिक संरचनालाई सुदृढ बनाउने रणनीतिक कदमका रूपमा हेर्न सकिन्छ । यो कदमले देशभित्रको मात्र होइन, विदेशमा रहेका नेपालीहरूको आर्थिक सामथ्र्यलाई पनि विकासमा जोड्ने संकेत दिएको छ ।
डायस्पोरा बण्ड भन्नाले विदेशमा बसोबास गर्ने नागरिक वा मूलतः त्यस देशसँग भावनात्मक सम्बन्ध भएका व्यक्तिहरूलाई लक्षित गरी जारी गरिने ऋणपत्र हो । विश्वका विभिन्न देशहरूले यस्तो अभ्यास सफलतापूर्वक गरिसकेका छन् । विशेषतः विकासशील राष्ट्रहरूले आफ्नो आर्थिक स्रोत विस्तार गर्न र विदेशी मुद्रा सञ्चिति बढाउन यसलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरेका उदाहरणहरू छन् । नेपालको सन्दर्भमा पनि वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली र प्रवासी समुदायको ठूलो आर्थिक योगदान छ, जसलाई अझ व्यवस्थित र दीर्घकालीन लगानीतर्फ मोड्न डायस्पोरा बण्ड उपयोगी हुन सक्छ ।
नेपालमा हरेक वर्ष अर्बौं रुपैयाँ रेमिट्यान्स भित्रिन्छ, जसले अर्थतन्त्रलाई टेवा दिएको छ । तर, यो रकम प्रायः उपभोगमा केन्द्रित हुन्छ, घर निर्माण, दैनिक खर्च, शिक्षा वा स्वास्थ्यमा । उत्पादनमूलक क्षेत्रमा यसको उपयोग अपेक्षाकृत कम छ । डायस्पोरा बण्डमार्फत यही रेमिट्यान्सलाई दीर्घकालीन लगानीमा रूपान्तरण गर्न सकिन्छ । यसले पूर्वाधार विकास, ऊर्जा, कृषि आधुनिकीकरण र औद्योगिक क्षेत्र विस्तारमा आवश्यक पूँजी जुटाउन मद्दत पु¥याउँछ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव हो । नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा विदेशी मुद्रा सन्तुलन कायम राख्नु ठूलो चुनौती हो । डायस्पोरा बण्डमार्फत विदेशी मुद्रामा लगानी भित्र्याउन सकेमा यो दबाब केही हदसम्म कम हुन सक्छ । यसले भुक्तानी सन्तुलन सुधार गर्न र वित्तीय स्थायित्व कायम राख्न सहयोग पु¥याउँछ ।
यद्यपि, केवल घोषणा मात्र पर्याप्त हुँदैन । डायस्पोरा बण्ड सफल बनाउन विश्वासको वातावरण निर्माण अनिवार्य छ । प्रवासी नेपालीहरूलाई आफ्नो लगानी सुरक्षित छ भन्ने भरोसा दिलाउनुपर्छ । विगतमा भएका केही वित्तीय अनियमितता, परियोजना ढिलाइ र नीतिगत अस्थिरताले लगानीकर्तामा सन्देह पैदा गरेको छ । त्यसैले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्छ । ब्याजदर, लगानीको अवधि, भुक्तानीको सुनिश्चितता र करसम्बन्धी सुविधा जस्ता पक्षहरू पनि आकर्षक बनाउनुपर्छ । अन्य देशहरूले डायस्पोरा बण्ड सफल बनाउन विशेष प्रोत्साहन प्याकेज दिएका छन्, जस्तै उच्च ब्याजदर, कर छुट, वा भावनात्मक अपील । नेपालले पनि यस्ता उपाय अपनाउन सकेमा प्रवासी समुदायलाई आकर्षित गर्न सकिन्छ ।
साथै, जुटाइएको रकम कहाँ र कसरी खर्च हुन्छ भन्ने स्पष्ट योजना हुनुपर्छ । यदि यो रकम उत्पादनमूलक र प्रतिफल दिने परियोजनामा लगानी गरियो भने मात्र यसको दीर्घकालीन प्रभाव देखिन्छ । अन्यथा, अनुत्पादक क्षेत्रमा खर्च भयो भने यो अर्को ऋणको भार मात्र बन्न सक्छ । डायस्पोरा बण्डले आर्थिक लाभ मात्र होइन, भावनात्मक सम्बन्ध पनि बलियो बनाउँछ । यसले ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने सम्भावना समेत खोल्छ । जनधारणा साप्ताहिक


