काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिका सभापतिहरूको उम्मेदवारको नाम टुंगो लगाएको छ । आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।
यस्ता छन् पार्टीले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु
- कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटा
- पूर्वाधार विकास समिति– आशिष गजुरेज
- राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
- सार्वजनिक लेखा समिति– प्रतिपक्ष दल
- महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
- उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति–रहबर अन्सारी
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– डा ओजस्वी शेरचन
- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास
- अर्थ समिति– कृष्णहरि बुढाथोकी
- संसदीय सुनुवाइ समिति– बोध नारायण श्रेष्ठ
- राज्यका निर्देशक सिुद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन–गणेश कार्की
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो ।
सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।
सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।


