काठमाडौं । अभिनेता विराज भट्ट अभिनीत चलचित्र ‘राम नाम सत्य’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । विराज आफ्नै निर्देशनको चलचित्र ‘१२ गाउँ’ पछि चलचित्र ‘राम नाम सत्य’ मार्फत पर्दामा आएका हुन् । ad फिल्म ‘राम नाम सत्य’ को टिकट बुकिङमा उत्साह नदेखिए पनि शो भने देशभरमा १८० भन्दा बढी पाएको छ । अब फिल्मले वर्ड अफ माउथबाट दर्शक तान्ने चुनौती बनेको छ ।
अर्कोतर्फ करिब २० करोड कमाई गरेको ‘१२ गाउँ’ को सफलतापछि विराजले बक्स अफिसमा सफलता दोहोराउने दबाब पनि देखिएको छ । माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् ।
यस फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत छ । यो चलचित्रमा समावेश ‘धागोले बाटेको’ बोलको गीतले लोकप्रिय बनेको छ ।


