काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छोड्ने तयारी थालेकी छन् । उनले आफ्ना सबैजसो सामान निजी निवास धापासी सारिसकेको उनको सचिवालयले जनाएको छ ।
आगामी शुक्रबार रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिएपछि कार्की स्वतः पदमुक्त हुनेछिन् । नयाँ प्रधानमन्त्रीलाई शुक्रबार राष्ट्रपति भवनमा स्वागत गरेपछि कार्की त्यहीँबाट निजी निवासतर्फ लाग्ने छिन् ।
‘अब बालुवाटारमा दुई–तीन दिन बस्नलाई चाहिने सामान मात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’ प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जनाए । उनका अनुसार एक साताअघिबाटै सामान सार्न थालिएको हो ।
नयाँ प्रधानमन्त्रीले शपथपछि सिधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले जनाए ।
प्रधानमन्त्री कार्कीको धापासीस्थित निजी निवास केही महिनादेखि खाली रहेका कारण फोहोर जमेको थियो । एक हप्ता लगाएर सबै सफा गरिएको र बस्नका लागि पूर्णतः योग्य भइसकेको रावलले बताए ।
प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदी पनि बालुवाटारमै बस्दै आएका छन् । घर सफा गर्नुपर्ने र सामान मिलाउनुपर्ने कारण विगत एक सातादेखि उनी धापासी–बालुवाटार ओहोरदोहोर गरिरहेका छन् ।


