काठमाडौं । निर्वाचनको मौन अवधिमा रास्वपाकी नेतृ तथा चितवन ३ कि उम्मेदवार सोविता गौतमको पुरानो अभिव्यक्तिलाई बंगाएर विवादमा तान्ने प्रयास भएको देखिएको छ ।
गौतमले चुनाव प्रचारका क्रममा ‘आदिवासी जनजाति समूदाय पैसामा बिक्छन्’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै सामााजिक सञ्जालमा भाइरल गराइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् चितवनको लेटरहेडमा विज्ञप्ति जारी गर्दै सोविता गौतममाथि गम्भीर आक्षेप लगाएको थियो ।
उक्त विज्ञप्तिमा सम्वोधनका क्रममा उम्मेदवार गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई पैसाले किन्न सकिने र बिक्न सक्ने वर्ग भनि टिप्पणी गरेको आरोप लगाइएको छ ।
साथै गौतमलाई २४ घण्टा भित्र माफी माग्न भनिएको छ । तर गौतमले दिएको अभिव्यक्तिको पुरा भिडियोमा भने विवाद गरिएको जस्तो अभिव्यक्ति छैन ।
चुनाव प्रचारप्रसाका क्रममा माघ १३ चितवन मतदाता भेट्न क्रममा सोविताले दिएको अभिव्यक्तिलाई तोडमोड गरिएको देखिन्छ । उनले थारु समुदायलाई सोझा र इमान्दार भनेर प्रसंसा गरेको देखिन्छ ।
साथै सोझा र इमान्दार वर्ग र समुदायाई पैसाले किन्न सक्ने वर्ग हो भन्ने सोचले यो समुदायलाई अन्याय भएको गौतमले बताएकी छिन् ।
गौतमले भनेकी छिन् ‘तपाईंहरुजस्तो इमान्दार वर्ग र समूदायलाई पैसाले किन्नसक्ने वर्ग हो भन्ने सोच बनाइराखेका छन् र यो तपाईंहरुमाथिको अन्याय हो’ ।
यो भनाईका सोझो आसय यो समूदायका बारेमा गलत भाष्य निमार्ण गरेर अन्याय भएको भन्दै यस्ता प्रवृतीविरुद्ध सचेत गराएकी थिइन् ।
उक्त भाषणमा सोविता गौतमले बोलेका शब्दहरु यस्ता थिएः
‘यो समूदाय, तपाईंहरुको गुरुङ थारु समूदाय वास्तवमा भन्ने हो भने निकै सोझो समुदाय हो । एकचोटि बोलिसकेपछि जे भन्छ, त्यसमा अडिक रहन्छ । एकदम इमान्दार समूदाय हो । तपाईंहरुको समूदायलाई धोका पनि धेरै दिइन्छ । एउटालाई भनेपछि हुन्छ यो समूदायलाई भन्ने किसिमको सोच राखिन्छ । निर्वाचनको अन्तिम अन्तिम समयमा भनिन्छ, ए त्यो ठाउँमा त फलानो चिज दिएपछि हुन्छ भन्ने किसिमको कुराहरु बाहिर सुनिन्छ । हेर्नुस तपाईंहरुजस्तो इमान्दार वर्ग र समूदायलाई आज पैसाले किन्न सक्ने बर्ग हो भन्ने सोच बनाइराखेका छन् । यो आफैंमा तपाईंहरुमाथि गरेको अन्याय हो । अन्तिम समयमा आएर तपाईंहरुलाई प्रभावित पार्ने, केही कुरा दिएझैं गर्ने मनसायले कोही मानिसहरु आउँछन् भने त्यसमा स्पष्ट हुनुस ।’


