एजेन्सी । इरानका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। इरानी सरकारी टेलिभिजनमा भावुक हुँदै उनको मृत्यु भएको समाचारहरु प्रसारण गरिएको छ। उनको मृत्युमा त्यहाँ ४० दिन सार्वजानकि राष्ट्रिय शोक घोषणा गरिएको छ।
आखिर को हुन् आयतोल्लाह अली खामेनी? अनी उनी कसरी इरानको सर्वोच्च नेता बने र अमेरिका-इजरायल किन उनको पछि लागे र अन्तत उनको हत्या गरियो।
केही समय अघि सम्म अमेरिका र इजरायलको प्राथमिकतामा इरानको परमाणु कार्यक्रमहरु मुख्य थिए। तर पछिल्लो पटक उनीहरूको मुख्य निशानामा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी परे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु इरानमा सत्तापलट गर्न चाहन्छन्। यसै सिलसिलामा, गत शनिबार इरानमा भएको आक्रमणपछि खामेनीलाई तेहरानबाट सुरक्षित स्थानमा सारिएको दाबि गरिएको थियो। तर उनी शनिबार राति अमेरिकी कारबाहीमा मारिए।
रिपोर्टहरूका अनुसार, ट्रम्पसमक्ष खामेनी र उनका उत्तराधिकारीहरूलाई समाप्त पार्ने योजना पेश गरिएको थियो। नेतन्याहु पनि खामेनीको अन्त्यपछि मात्र यस क्षेत्रमा स्थिरता आउने विश्वास गर्दै आएका छन्।
मोडलिङको युगमा जन्मिएर ११ वर्षमै ‘मौलवी’ बने
१९ अप्रिल १९३९ मा इरानको पवित्र धार्मिक सहर मशहदमा सैयद जावेद खामेनीको घरमा आयतोल्लाह सैयद अली खामेनीको जन्म भयो। उनी ८ भाइबहिनीमध्ये दोस्रो सन्तान थिए। ४ वर्षको उमेरदेखि नै उनले कुरान र अरबी शिक्षा लिन सुरु गरे।
आफ्नो आत्मकथा ‘सेल नम्बर १४’ मा उनले लेखेका छन् कि उनी गणित र अंग्रेजीमा निकै तगडा थिए। आफ्ना पिता जस्तै मौलवी बन्ने बाटो रोजेका खामेनी ११ वर्षको कलिलो उमेरमै मौलवी बनेका थिए।
त्यस समय इरानमा शाह मोहम्मद रजा पहलवीको शासन थियो, जहाँ पश्चिमा संस्कृति, मोडलिङ र नाइट क्लबहरूको बोलवाला थियो। खामेनी बाल्यकालमा मौलवीको पहिरन लगाएर हिँड्दा मानिसहरूले उनको मजाक उडाउने गर्थे।
राजनीतिक यात्रा र इस्लामिक क्रान्ति
१९५० को दशकमा मुहर्रमको समयमा फिल्म प्रदर्शनमा लगाइएको रोक हटाएपछि खामेनीले त्यसको विरोध गर्दै राजनीतिमा पाइला टेके। पछि उनी आयतोल्लाह रुहोल्लाह खोमेनीका कट्टर अनुयायी बने। खोमेनीले इरानलाई पश्चिमाकरण गर्ने ‘ह्वाइट रिभोलुसन’ को विरोध गरेका थिए।
खामेनीले खोमेनीका विचारहरूलाई गाउँ-गाउँ पुर्याउन मद्दत गरे। १९७९ को इस्लामिक क्रान्तिपछि शाहको सरकार ढल्यो र खामेनी उप-रक्षामन्त्री नियुक्त भए। उनले इरानको सबैभन्दा शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) गठन गर्न मुख्य भूमिका खेले।
ज्यानमारा आक्रमण र अपाङ्गता
१९८१ मा एउटा मस्जिदमा प्रवचन दिइरहेका बेला टेप रेकर्डरमा लुकाइएको बम विस्फोट गराएर खामेनीको हत्या प्रयास गरिएको थियो। यस हमलामा उनको दाहिने हात, भोकल कर्ड र फोक्सोमा गम्भीर चोट लाग्यो। उनको दाहिने हात सधैँका लागि पक्षघात (प्यारालाइसिस) भयो भने एउटा कानले सुन्न छाडे। तर उनले दृढताका साथ भनेका थिए ‘यदि मेरो मस्तिष्क र जिब्रोले काम गर्छ भने मलाई हातको आवश्यकता पर्दैन।‘
कसरी बने सर्वोच्च नेता?
सन् १९८१ मा राष्ट्रपति र प्रधानमन्त्रीको बम विष्फोटमा मृत्यु भएपछि खामेनी इरानको तेस्रो राष्ट्रपति बने। १९८९ मा खोमेनीको निधनपछि संविधान संशोधन गरेर उनलाई इरानको सर्वोच्च नेता (रहबर) चुनियो। यद्यपि, उनी सुरुमा यो पद लिन चाहँदैनथे, तर तत्कालीन परिस्थितिका कारण उनले कमान सम्हाले।
इजरायल र अमेरिका किन खामेनीको ज्यान लिन चाहन्थे ?
इरानको विदेश नीति र रणनीतिक निर्णयमा अन्तिम शब्द खामेनीकै हुन्छ। इजरायल र अमेरिका उनलाई हटाउन चाहनुका मुख्य कारणहरूका रुपमा खामेनीले इराक, सिरिया, लेबनान र यमनमा लडाकुहरूको सञ्जाल खडा गरे, जसले इजरायल र अमेरिकी स्वार्थलाई चुनौती दिइरहे। हिजबुल्लाह, हमास र हुथी विद्रोहीहरूलाई समर्थन दिएर उनले इजरायलविरुद्ध मोर्चा खोले।
साथै इरानी परमाणु कार्यक्रमलाई अघि बढाइरहे। जुन इजरायलले आफ्नो अस्तित्वका लागि सबैभन्दा ठूलो खतरा मान्छ। साथै ट्रम्प र नेतन्याहुको विश्वास छ कि खामेनी हटेपछि मात्र इरानमा पश्चिमामैत्री र लोकतान्त्रिक सरकार आउन सक्छ।
अब के होला?
खामेनीको उत्तराधिकारीका रूपमा अली लारीजानीको नाम चर्चामा छ। यदि सत्तापलट भएमा अमेरिकामा रहेका पूर्व राजा शाहका छोरा रजा पहलवीले पनि आफ्नो दाबी पेश गर्न सक्छन्। खामेनीको मृत्यु वा बहिर्गमनले पूरै मध्यपूर्वको राजनीतिमा ठूलो हलचल ल्याउने निश्चित छ। अब कसरी शान्तिपूर्ण रुपमा इरानले निकास पाउला भने प्रतिक्षा लम्बिएको छ।


