काठमाडाैं । जेनजी आन्दोलन र यसपछिका घटनाक्रमहरूमा अमेरिकी संलग्नताको अड्कलबाजी भइरहेका बेला त्यहाँका सहायक विदेशमन्त्री पल कपुरले नेपालमा सुरक्षित र शान्तिपूर्ण निर्वाचन प्रक्रिया हुनेमा विश्वस्त रहेको तथा चुनावबाट छानिएर आएको दलसँग काम गर्न तयार रहेको जनाएका छन्।
अमेरिकी तल्लो सदनको दक्षिण तथा मध्य एसियाली मामिला उपसमितिमा बोल्दै सहायक विदेश मन्त्री पल कपुरले भने- ‘नेपालमा सुरक्षित र शान्तिपूर्ण निर्वाचन प्रक्रिया हुनेमा हामी विश्वस्त छौँ र चुनावमा जसले जिते पनि हामी उनीहरूसँग काम गर्न तयार छौँ।’
गत वर्ष फेब्रुअरीमा डोनाल्ड लुको स्थानमा नियुक्त भएका दक्षिण एसियाली सुरक्षा विज्ञ कपुरले नेपाल र बंगलादेशको राजनीतिक परिवर्तनलाई ‘युवा आन्दोलनले ल्याएको प्रजातान्त्रिक अवसर’ का रूपमा चित्रण पनि गरे।
कपुरले दक्षिण एसियामा कुनै एक शक्तिको मात्र अधिपत्य हुन नदिने अमेरिकाको मुख्य उद्देश्य रहेको पनि स्पष्ट पारेका छन्।
कपुर र उपसमिति अध्यक्ष बिल हुइजेङ्गाले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत साना राष्ट्रहरूलाई ऋणको जालमा पार्न सक्ने खतराप्रति सचेत पनि गराएका थिए।
त्यस्तै, अमेरिकाले नेपाल जस्ता देशहरूमा व्यापार विस्तार, रक्षा सहयोग र पूर्वाधार (बन्दरगाह, टेलिकम, ऊर्जा) मा पारदर्शी लगानी बढाउन प्राथमिकता दिने जनाएको छ।
डेमोक्र्याटिक सांसद सिड्नी कामलागर-डोभले भने अमेरिकी नीतिको आलोचना गर्दै डिसेम्बरमा नेपाल र श्रीलंकाका राजदूतहरूलाई फिर्ता बोलाउँदा अमेरिकी कूटनीतिक उपस्थिति कमजोर बनेको टिप्पणी गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा अमेरिकी सहयोग रहेको अड्कलबाजी विभिन्न आलोचकहरूले गरेका थिए।
चीनले नेपालमा बढ्दै गइरहेको विदेशी प्रभावप्रति शंकाको दृष्टिले हेर्दै आफ्नो चासो मुखरित गर्ने प्रयास गरिरहेको छ।
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ शुक्रबार काठमाडौं आइपुगेका छन् भने नेपालमा अहिले अमेरिकी राजदूतको उपस्थिति छैन।


