काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिन थालेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एकता गरेका छन् । तर पार्टीको नाम, झण्डा, चुनाव चिह्न, अध्यक्ष लगायत अन्य पदाधिकारीहरू टुंग्याउन बाँकी नै छ ।
यसअघि लोसपा नेपालसँग वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)बिच एकता हुने सहमति भएको थियो, ती दलहरूको पनि एकता घोषणा भएको छैन ।
तर तमलोपा र जनता प्रगतिशील पार्टीले लोसपा नेपाललाई स्विकारिसकेका छन्, उसकै चुनाव चिह्न र झन्डालाई पनि मानिसकेको छ । लोसपा नेपालका एक नेताका अनुसार तमलोपा र जप्रपा लोसपामा समाहित भइसकेका छन् र अब पद समायोजन गर्न मात्र बाँकी छ ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले एकता गर्ने सहमति भइसकेको र अन्य विषयमा दल बसेर टुंग्याउने बताए । तीन दलबिच एकता गर्ने सहमतिपछि व्यस्तताका कारण बैठक बस्न नसकेको उल्लेख गर्दै उनले चाँडै बैठक बसेर सबै टुंग्याएर बढ्ने बताए ।
टुंग्याउनुपर्ने मुख्य विषय जसपा नेपाल र लोसपा नेपालको एकता हो । यसमा दुवै पार्टीले गृहकार्य थालेका छन् । लोसपाका महासचिव डा. सुरेन्द्र झाले दुई पार्टीमध्ये कुनै एक दलमा सहमति बनाउने बताए । उनले भने, ‘कुन दल राख्ने, चुनाव चिह्न के राख्ने भन्नेबारे हामीबिच समस्या छैन, दुवै दलमध्ये कुनै एकको राखेर अगाडि बढ्छौँ ।’
महासचिव झाले कुन पार्टी राख्ने र कसको चुनाव चिह्न राख्ने लगायत विषयमा उच्चस्तरीय कार्यदलले निर्णय लिने बताए । ‘यो एकता मुख्य रूपमा अहिले चुनावका लागि अगाडि बढ्छ, आफ्नो गतिविधिहरू बढाउँछ, कार्यदलले पनि त्यहीअनुसार काम गर्छ,’ उनले भने, ‘चुनाव सम्पन्न भएपछि एकता प्रक्रियाका थप काम अगाडि बढ्नेछन् ।’
यता अशोक राई नेतृत्वको जसपाका उपाध्यक्ष रेणु यादव पक्ष पनि जसपा नेपालमा समाहित भइसकेका छन् । जसपा नेपालको नाम, झन्डा र चुनाव चिह्न स्वीकार गरी उनीहरू समाहित भएका हुन् । नेताहरूको व्यवस्थापन र जिम्मेवारीको काम पनि सोही कार्यदलले गर्ने जसपा नेपालका एक नेताले बताए ।
जसपा नेपाल स्रोतका अनुसार यसपटक एकीकृत पार्टीमा एक जना मात्र अध्यक्ष रहने लगभग सहमति भएको छ । पार्टीको कार्यकारी अध्यक्षमा उपेन्द्र यादव रहने र अभिभावकको भूमिकामा लोसपाका अध्यक्ष महन्थ ठाकुर रहने भनिएपनि औपचारिकता दिन बाँकी रहेको जसपाका एक नेताले बताए ।
सम्भवतः चुनावसम्म हाल पार्टीमा रहेका जो जुन पदमा छन्, सोही पदमा रहनेछन् । चुनावपछि नेतृत्वबारे टुंगो लगाउने उनको भनाइ थियो । विगतमा दुई जना अध्यक्ष राखेर गरिएको अभ्यास असफल भइसकेको भन्दै अब जसपा नेपाल दुई अध्यक्ष प्रणालीमा नजानेमा नेताहरू देखिएका छन् ।


