एजेन्सी । मलेसियाका एक व्यक्तिको मुखमा सामान्यभन्दा धेरै दाँत भेटिएपछि उनको नाम विश्व कीर्तिमानमा दर्ता भएको छ।
गिनिज वर्ल्ड रेकर्डले सार्वजनिक गरेको जानकारी अनुसार मलेसियाका प्रथाव मुनियान्डीको मुखमा कुल ४२ वटा दाँत रहेको पुष्टि भएको छ, जुन सामान्य मानिसभन्दा १० वटा बढी हो। गिनिज वर्ल्ड रेकर्डले सामाजिक सञ्जाल एक्समा चार तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो।
सामान्यतया मानिसको मुखमा ३२ वटा दाँत हुन्छन्, तर मुनियान्डीको मुखमा असामान्य रूपमा बढी दाँत भएकाले उनलाई “एक पुरुषको मुखमा सबैभन्दा धेरै दाँत भएको” रेकर्ड प्रदान गरिएको छ। गिनिज वर्ल्ड रेकर्डको वेबसाइटका अनुसार सन् २०२३ मा दुई जना दन्त चिकित्सकले उनको परीक्षण गरेर यो रेकर्डलाई आधिकारिक रूपमा प्रमाणित गरेका थिए। अझ रोचक कुरा के छ भने, भविष्यमा उनका अझ दुई वटा दाँत आउन सक्ने सम्भावना रहेको जनाइएको छ।
३३ वर्षीय मुनियान्डी मलेसियामा तेल तथा ग्यास उद्योगमा इन्जिनियरका रूपमा काम गर्छन्। उनले सन् २०२१ मा परिवारसँग यात्रा योजना बनाउँदै गर्दा आफ्ना थप दाँत उम्रिन थालेको महसुस गरेका थिए। त्यसपछि उनले परिवारलाई यसबारे जानकारी दिएका थिए। त्यतिबेला उनले दाँत गनेर हेर्दा ३८ वटा दाँत रहेको पाए। पछि एक्स–रे परीक्षण गर्दा अझ चार वटा दाँत निस्किन बाँकी रहेको देखिएको थियो।
सन् २०२३ को सुरुवातसम्म आइपुग्दा उनका कुल ४२ वटा दाँत भएको पुष्टि भयो। मुनियान्डीका अनुसार मानिसहरूले उनको मुखमा ४२ वटा दाँत भएको कुरा सुन्दा प्रायः आश्चर्यचकित हुन्छन्। यद्यपि धेरै दाँत भएकाले आफ्नो स्वास्थ्यमा कुनै नकारात्मक असर नपरेको उनले जनाएका छन्। गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता भएपछि उनले भनेका छन्, “मेरो मुखमा ४२ वटा दाँत हुनु मेरो लागि निकै विशेष कुरा हो।”


