-ईश्वरी सिंह
नेपालको राजनीतिमा अहिले नयाँ शक्तिको उदय भएको छ ।रास्वपाले हालको संसदीय चुनावमा न सोचेको परिणाम ल्याएर सबैलाई चकित बनाएको छ । रास्वपाको चुनाव चिन्ह घण्टीको लहरले जनतामा एउटा छुट्टै तरंग नै पैदा गर्यो । जेनजी आन्दोलन पश्चात पुराना राजनीतिक दलहरुसँग रुष्ट रहेका जनताले यसपाली बिकल्पको रुपमा रास्वपालाई भारी मतले बिजयी गराएका हुन् । वैदेशिक रोजगारीमा गएका करिब १७ लाख नेपालिहरु यस चुनावमा सहभागि हुने मनसायले नेपाल आउनको लागि विदा समेत लिई सकेका थिए, तर मध्य एशिया तनावले उनिहरु रोकिनु परेको छ ।
विभिन्न देशहरुमा भइरहेको द्धन्द्धका कारणले गर्दा उनिहरु सहभागी हुन सकेनन् । उनिहरु सहभागि हुन नसके पनि रास्वपालाई सत्तामा पुर्याउन महत्वपुर्ण भूमिका खेलेका छन् । पुराना नेताहरुले जनताको मत पाएर पनि उनिहरुको चाहना अनुरुप काम नगरेका कारण यसपालिको चुनावमा आफ्नो मताधिकारको प्रयोग गरेर जवाफ फर्काएका छन् ।
परिणाम हेर्दा आफ्नै कार्यकर्ताहरुले नेताहरुलाई पनि मत नदिएको देखिन्छ । किन आफ्नै कार्यकताले मत नदिएका हुन् त ? भन्ने बारेमा दलहरुले आत्मसमिक्षा गर्न जरुरी देखिन्छ । किन यस्तो अवस्था आयो त ?
देशमा भएको भ्रष्टाचारको बिरुद्धमा जनताले आवाज उठाउँदा ती आवाजहरुलाई दबाउनकोलागि तत्कालीन सरकारले सामाजिक संजाल नै बन्द गरिदिए । त्यसपछि शुरु भएको जेन्जी आन्दोलनको झिल्कोले देश नै खरानी हुने अवस्थामा पुगेको थियो ।
कति आमाहरुका काखहरु रित्तिएका छन् । ती कलिला लालाबालाहरुले परिर्वतनकोलागि उठाएको आवाजलाई तत्कालीन सरकारले बन्दूकको गोलिले बन्द गर्ने प्रयास गर्यो ।स्कुले बच्चाहरु सडकमा रक्ताम्यै हुँदा पनि सत्तामा टाँसिएर बसेका तत्कालीन सरकारले दमन गर्न छाडेन । तैपनि जेन्जी आन्दोलन दन्किरहयो । जस्लाई निभाउन सरकारलाई हम्मे हम्मे पर्यो । प्रधानमन्त्रि,मन्त्रि र नेताहरु आफ्नो बासस्थान छोडेर अन्यत्र भाग्नु पर्ने स्थिति आयो ।
सरकारविहिन अवस्थामा जेलबाट हजारौं कैदीहरु फरार भए ।
सत्ता रिक्त अवस्थामा पुग्यो । देश अभिभावकविहिन अवस्थामा पुगे पछि पुर्व प्रधानन्यायधीश सुशीला कार्कीलाई प्रधानमन्त्रिको स्थानमा जेन्जी पुस्ताले राखे । अन्तरिम सरकार गठन भयो ।
अन्तरिम सरकारले शान्तिपूर्वक संसदीय चुनाव गराएर सत्ताको बागडोर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने वाचा गर्यो । सोहि वाचालाई फाल्गुण २१ गतेका दिन शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गरायो ।नेपालको ईतिहासमै यति शान्तिपूर्ण चुनाव कहिल्यै भएको थिएन ।
सामाजिक संजाल मार्फत प्रधानमन्त्री कार्कीलाई रास्वपाका नेता बालेन साहले आमा भनेर संबोधन गर्दै धन्यवाद पनि दिए । जस्को चौतर्फि चर्चा भयो । हालको मत परिणाम हेर्दा रास्वपाले दुईतिहाई बहुमतसहित एकल सरकार बनाउन सक्ने सम्भावना छ । तर चुनौतिका विषयहरु पनि रास्वपालाई कम छैन ।
संगठनात्मक क्षमता,शासन संचालनको अनुभव,राजनीतिक परिपक्वता,राजनीतिक संस्कार तथा संसदीय र नीति निर्माण प्रकृयामा कुटनीतिक अभ्यासका क्षेत्रमा केही कमजोरीहरु देखिन सक्छन् । त्यसैगरि पार्टिका केन्द्रिय नेताहरु बीच सन्तुलन कायम गरेर अगाडि बढ्दा बलियो रुपमा सत्ता संचालन गर्न सकिन्छ, तर खिचातानी गर्न थालियो भने अहिले बलियो रहेको धागो कमजोर हुन्छ । त्यसपछि ‘भाई फुटे गवाँर लुटे’ अर्थात घर झगडा हुँदा छिमेकीले फाईदा उठाउन सक्छन् । त्यसैले यी विषयहरुलाई ध्यानमा राखेर जनताको जनादेशलाई कदर गर्दै कदम कदममा होस पूर्वक अगाडि बढ्नु पर्ने हुन्छ ।
रास्वपाले सांसदहरुको सपथ खाएकै दिन मन्त्रीहरुको चयन गरेर कामको सुरुवात गर्दा उत्तम होला । मन्त्री परिषदको पहिलो बैठकले जेन्जी आन्दोलनकारीहरुको मागहरुलाई संबोधन गर्दै भ्रष्टचारी नेताहरुलाई कानुन बमोजिक कार्वाहीको दायरामा ल्याउने निर्णय गर्नुपर्छ ।
त्यसैगरी संविधानको धारा ३१ देखि ४२ सम्म लेखिएका मानव अधिकारसंग जोडिएका बिषयहरु (निशुल्क शिक्षा,स्वास्थ्य र रोजगारीका हक) हरुलाई नारामा मात्र सीमित नराखी सरकारले तत्काल व्यवहारमा लागु र्गनुपर्ने हुन्छ । पुराना र स्थापित दलहरु रास्वपाको उदयबाट त्रसित छन् । पुराना दलहरुको घेराबन्दीलाई चिर्दै आफ्ना एजेन्डालाई स्थापित गरेर पार्टीलाई सांगठनिक रुपमा बलियो बनाएर अघि बढ्न पनि एक्दम जरुरी देखिन्छ ।
रास्वपाले अरुलाई कानुनी दायरामा ल्याईरहँदा आफ्ना पार्टीका नेताहरुलाई लाग्ने आरोपहरु र विवादित विषयहरुलाई पक्षपोषण गर्ने कार्यशैलिको पनि अन्त्य गर्न सक्नु पर्छ ।अनि मात्र जनताले दिएको मतको कदर भएको मान्न सकिने छ ।


