काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ।
नेपालमै पहिलोपटक एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर १ लाख (झन्डै १ करोड ३० लाख रुपैयाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ।
कुनै पनि सम्पत्ति धितो राख्नुपर्ने वा कोसाइनर (ग्यारेन्टर) खोज्नुपर्ने झन्झटबिनै अन्तर्राष्ट्रिय शिक्षा ऋण पाउन सक्ने भएका छन्।
पछिल्ला वर्षहरूमा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ। हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन्। यो संख्या एकै वर्ष ४२ प्रतिशतले वृद्धि भएपछिको हो। यति हुँदाहुँदै अझै पनि धेरै परिवारका लागि विदेशमा पढाइको खर्च जुटाउनु सबैभन्दा चुनौतीपूर्ण छ।
नेपालका परम्परागत बैंक तथा वित्तीय संस्थाले प्रायः जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन्, जसले धेरै योग्य विद्यार्थीलाई ऋण लिन कठिन बनाउँछ। यही समस्यालाई समाधान गर्न वाशिङ्टन डी.सी.स्थित एमपावर फाइनान्सिङ अघि सरेको हो।
यस संस्थाको मूल्याङ्कन प्रणाली परम्परागतभन्दा फरक छ। यसले विद्यार्थीको पैतृक र पारिवारिक सम्पत्तिमाथि होइन, उनको विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई ध्यानमा राखेर शैक्षिक ऋण प्रदान गर्छ। यही कारणले गर्दा एमपावर फाइनान्सिङले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको छ। अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको संस्थाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।
संस्थाका अनुसार विद्यार्थीहरूले दुई हजार एक अमेरिकी डलरदेखि एक लाख डलरसम्मको ऋणका लागि आवेदन दिन सक्छन्। जसमा ट्युसन शुल्क मात्र होइन, बसोबास तथा अन्य खर्चहरू पनि समेटिन्छ। आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेको साथै स्थिर ब्याजदर र पारदर्शी भुक्तानी योजना रहेकाले विद्यार्थी र अभिभावकलाई खर्च व्यवस्थापनमा स्पष्टता र सहजता प्रदान गर्ने संस्थाको विश्वास छ।
MPOWER ले केवल ऋण मात्र होइन, छात्रवृत्ति, भिसा सहयोग, र करिअर तयारीका लागि सफलताको बाटो एबतजद्दक्गअअभकक कार्यक्रमसमेत सञ्चालन गर्छ। यसमार्फत विद्यार्थीले भिसा आवेदनका लागि ‘प्रुफ अफ फन्ड्स’ देखि रोजगार खोज्ने मार्गदर्शनसम्म आवश्यक सहयोग पाउँछन्।
यो पहल विशेषगरी विज्ञान प्रविधि, ईञ्जिनियरिङ र गणित विषयका साथै, व्यवसाय, र व्यावसायिक अध्ययन गर्ने विद्यार्थीका लागि उपयोगी छ, जहाँ पढाइपछिका रोजगार अवसरहरू विश्वमै उत्कृष्ट मानिन्छन्।
अन्तर्राष्ट्रिय अध्ययनको सपना पूरा गर्न इच्छुक नेपाली विद्यार्थीका लागि एमपावर फाइनान्सिङले अब अवसर, पहुँच र आत्मविश्वास तीनै कुरा एकैसाथ उपलब्ध गराउँदै विदेशी स्नातकोत्तर अध्ययनलाई सहज र सम्भव बनाएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


