–निमकान्त पाण्डे
जेनजीको नेतृत्वमा गत भदौमा आन्दोलन भयो । यो आन्दोलनसम्बन्धी टीकाटिप्पणी जारी छ । जेनजीले देशमा व्याप्त भ्रष्टाचार, नातावाद, करको दुरुपयोग र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जस्ता मुद्दालाई उठाएको थियो । यो आन्दोलन देशव्यापी रूपमा फैलियो र काठमाडौंलगायत प्रमुख सहरहरूमा हजारौं युवा सडकमा उत्रिए । आन्दोलनको सुरुवात शान्तिपूर्ण थियो, तर पछि सरकारको दमनले हिंसात्मक रूप लियो, जसमा प्रदर्शनकारीहरू र सुरक्षा निकायबीच झडपहरू भए । पहिलो दिन भदौ २३ मा प्रहरीको गोली लागेर १९ युवाको ज्यान गयो । दोस्रो दिन प्रदर्शनकारीले तोडफोड र आगजनी गरे । यो आन्दोलनमा ७४ जनाको ज्यान गयो ।
यस क्रममा सरकारी निकायमा आगो लाग्दा नेपाली सेनाले किन नियन्त्रणमा चासो दिएन भन्ने अहिलेको प्रश्न छ । सेनाले भने आफ्नो भूमिका निर्वाह गर्दै मानवीय सुरक्षालाई प्राथमिकता दिएको दाबी गरेको छ । तर, यस दाबीका बाबजुद मानवीय क्षति रोक्न भने पर्याप्त सफलता हासिल हुन सकेन । सेनाको आधिकारिक वक्तव्यमा उल्लेख भएअनुसार, प्रदर्शनकारीहरूलाई संयम अपनाउन अपील गरिएको थियो र स्थिति जटिल नबनाउन आग्रह गरिएको थियो । सेनाले न्यूनतम बल प्रयोग गरेको र प्रदर्शनकारीहरूको जीवन रक्षाका लागि प्रयास गरेको जनाएको छ । तर, के सेना समयमै सक्रिय भएको भए ७४ जनाको ज्यान जान्थ्यो ? राष्ट्रिय संरचना खरानी हुने अवस्था आउँथ्यो ? यो प्रश्न सेनामाथि तेर्सिएको छ ।
आन्दोलनका क्रममा ठूलो मानवीय क्षति हुनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो, जसलाई देशको एक जिम्मेवार सुरक्षा निकायको रुपमा सेनाले कम गर्न सक्थ्यो । त्यही कारण आन्दोलनको भोलिपल्ट अझै भौतिक क्षति भए । जेनजी आन्दोलनका क्रममा देशभर प्रारम्भिक अनुमानमा करिब एक खर्ब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको देखिएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण यस्तो क्षति देखिएको हो । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै एक खर्ब रुपियाँ बराबरको क्षति भएको सरकारले जनाएको छ । जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकालगायत देशभर सरकारी कार्यालय तथा सवारीसाधनमा क्षति पुगेको थियो । काठमाडौँमा सिंहदरबार परिसरभित्रका विभिन्न मन्त्रालय तथा सवारीसाधन, सर्वोच्च अदालत, संघीय संसद् भवनदेखि देशभरका विभिन्न प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा स्थानीय निकायका विभिन्न कार्यालयमा व्यापक तोडफोड, लुटपाट तथा आगजनी भएको थियो ।
तर अहिले सेनाले आफ्नो कमजोरी ढाक्ने प्रयास गरिरहेको छ । हालै एक पत्रकार सम्मेलनमा सेनाले आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ । नेपाली सेनाका युद्धकार्य विभाग प्रमुख अनुपजंग थापाले भदौ २४ गते राति १० बजेदेखि सडकमा निस्किनुनअघि नै उपत्यकाका १८ मध्ये १२ वटा दमकल प्रयोग गरेर आगो निभाउने कोसिस गरिएको जवाफ दिएका छन् । ‘ठूलो संख्यामा अत्यन्त आक्रोशित भिड सिंहदरबारभित्र छिरेपछि ठूलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने स्पष्ट देखिन्थ्यो । समग्र घटनाहरूमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहल लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्वपूर्ण रहेको बुझाइ यहाँहरूलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । तर, सेनाको प्रयासले प्रतिफल भने दिन नसकेको स्पष्ट छ ।
यद्यपि, जेनजी आन्दोलनपछि नेपाली सेनाले खेलेको भूमिका प्रशंसनीय छ । आन्दोलनको हिंसात्मक चरणपछि सेनालाई तैनाथ गरिएपछि स्थिति नियन्त्रणमा आएको थियो । जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि सेनालाई राति १० बजेदेखि तैनाथ गरिएको थियो र स्थिति शान्त भएको थियो। सेनाले सडकहरूमा गस्ती गरेर, संसद् भवनको सुरक्षा गरेर र नागरिकहरूलाई घरमै बस्न आदेश दिएर शान्ति कायम गरेको थियो । नेपाली सैनिकहरूले राजधानीका सडकहरूमा गस्ती गरेर व्यवस्था बहाल गरेका थिए । यस भूमिकाले सेनालाई नेपालको स्थिरताको संरक्षकको रूपमा स्थापित गरेको छ । सेनाको यो कदमले देशलाई थप संकटबाट बचाएको थियो। यसका लागि सेनाको प्रशंसा गर्नुपर्छ, किनकि उनीहरूले तटस्थ रहँदै राष्ट्रिय हितलाई प्राथमिकता दिएका थिए ।
सेनाको यो सकारात्मक भूमिकाले आन्दोलनपछि नेपालको पर्यटन र आर्थिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ । आन्दोलनपछि
पर्यटन क्षेत्रमा संशय भए पनि सेनाको नियन्त्रणले यसलाई अवसरमा रूपान्तरण गर्न सकिने बताइएको छ । सेनाले शान्ति कायम गरेपछि सामान्य जीवनमा फर्किन सहयोग गरेको थियो, जसले देशको छविलाई अन्तर्राष्ट्रिय स्तरमा सुधार्न मद्दत ग¥यो ।
जेनजी आन्दोलनले नेपालको युवा पुस्ताको आवाजलाई प्रतिनिधित्व गरे पनि यसमा भएका मानवीय क्षतिले दुःखद पक्ष थपेको छ । नेपाली सेनाले मानवीय सुरक्षालाई महत्व दिएको दाबी गरे पनि व्यावहारिक रूपमा क्षति रोक्न पर्याप्त हुन सकेन । तथापि, आन्दोलनपछि सेनाले खेलेको भूमिका प्रशंसनीय छ, जसले देशमा शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण योगदान दिएको मान्न सकिन्छ । जनधारणा साप्ताहिक


