– खडग पाण्डे
मेरो लागि दशैं असत्यमाथि सत्यको जितको प्रतीक होइन। यो त पुनर्मिलनको उत्सव हो। परदेशिएका आफन्तका मन फेरि जोडिने बेला हो। मह जम्मा गर्न बाहिर गएका माहुरीझैँ, आफ्नै घारमा फर्केर मिठास बाँड्ने क्षण हो। यो भरपेट खाने, नयाँ कपडा लगाउने, अग्रजलाई सम्मान गर्ने र सानालाई माया र स्नेह छरपस्ट पार्ने अवसर हो। दौतरीहरूसँग गफिँदै बालापनका सम्झना ताजगी बनाउने रोमान्चित हुने। र अन्ततः, यही त हो दशैं- आफ्नै सालनाल बिसर्जन भएको माटोलाई ढोग्ने, फेरि आफ्नो अस्तित्वलाई सम्झने, घर र मन दुबै फर्किने असीम भावनाको पर्व।
खेतबारी, काल्ना-पखेरामा सेतो शितको थोपालाई पैतलाले स्पर्स गर्दै गाउँघर डुल्नु, त्यो नै दशैंको असली मज्जा थियो। मन त त्यसै-त्यसै उमङ्गले उडिहाल्थ्यो, कागजको चङ्गा धागोले उडाउनु र हृदय फुरुङ्ग भएर उड्नुको कुनै तुलना हुँदैन। बिगत र भविष्य बिर्सेर वर्तमानमा बाँच्ने रमाइलो, त्यो नै दशैं थियो। गाउँले दाजुभाइ भेला भएर खसी-बोको जोहो गर्ने गाउलेहरुको सल्लाह, त्यो सल्लाह थिएन भावनात्मक एकताको डोरो हुन्थ्यो। आजझैँ मासु फ्रेस हाउसबाट प्लास्टिकको पोकामा आउँदैनथ्यो; त्यो त गाउले दाजुभाईहरुको माया, स्नेह र सद्भावको पोका हुन्थ्यो। मासु पाक्दा हरहर टिमुर र जिराको सुगन्धले पूरा गाउँनै मगमगाउँथ्यो। कसको घरमा मासु पाक्यो भनेर टाढैबाट थाहा पाउने जमाना थियो। तर आजकल जिराको वास्ना पनि हराइसकेको छ। हिजो भुईतलाको अगेनोमा संसारभरि फैलिने सुगन्ध बाँडिन्थ्यो, आज अगेनाहरु “किचन” बनेर माथिल्लो तलामा कैद भएका छन्, समाज व्यक्तिवादमा कैद भए जस्तो। त्यसैले होला, वास्ना पनि आकाशमा हराएर मनमा पुग्न छाडिसकेको छ।
दशैं सामूहिकताको प्रतीक हुन्थ्यो। बाटो, चौतारी, भञ्ज्याङ्ग सबै सफाई हुन्थे। सफा र उज्याला देखिन्थे। पधेरा र धाराबाटै पर्वको स्पन्दन महसुस हुन्थ्यो। लिङ्गे पिङ्ग चारवटा बाँसले मात्रै ठडिएको हुँदैनथे; त्यो त सद्भाव, भातृत्व, सौहार्द, सहकार्य र सहअस्तित्वका अनगिन्ती कडिहरुले ठडिएका हुन्थ्यो। केटाकेटी र युवाहरु पिङ्गमा मच्चिन्थे। पाकाहरू छेउमै उभिएर रोमान्चक अनुभूति र आनन्दमा रमाउँथे। त्यस्ता ठाउहरू पुष्ताअन्तर भन्दा पुस्तासम्बन्ध जोड्ने बन्धन हुन्थे। दूरी भन्ने कुरा त्यहाँ जन्मै लिएको थिएन। त्यो जमघट, त्यो भलाकुसारी, आजका व्यापारीक र कृत्रिम स्थलसँग कुनै तुलना नै हुँदैन। आजको दशैं कहिलेकाहीँ मृत्युपछि घाटमा सजाइएका फूलजस्ता लाग्छ, आडम्बर र प्लास्टिकको- चमकले भरिएको, भावना र चेतना विहीन।
घरहरू कमेरो र रातो माटोले रंगिएका हुन्थे। त्यस्तो रंगले अटालिमा स्याहारेर राखिएका फर्सी र कुभिण्डाहरु मुस्कुराएको जस्तो अनुभुती हुन्थ्यो। कर्नालीझैँ सिउरिएका मकैका झोतलाहरु, कर्नासिमा झुन्डिएर मौनतापूर्वक दशैंको प्रतिक्षा गरिरहेका भान हुन्थ्यो। सबै घरमा एउटै प्राकृतिक रंग। त्यो बेला घरमा विभेद थिएन। त्यहाँ सस्तो र महँगो रंगको भिन्नता थिएन। धनी- गरिब छुट्याउने रंग थिएन। जस्ता मानिसका मन, त्यस्तै घरका रङ्ग। जस्तो सरल जीवनशैली, त्यस्तै सहज सौन्दर्य। आजझैँ व्यापारिक बिषादियुक्त नक्कली “गोल्डेन कलर” देखाउने चमक थिएन, तर पुरानो घरका खावा, थाम र झ्याल-ढोकामा कालो रंङ्गले छोडेको चमक, त्यो नै जीवनको असली उज्यालो थियो।
दशैं बालबालिकाका लागि नाना-चाचाको पर्यायवाची थियो। वयस्कका लागि लाज ढाक्ने कपडा थियो।
विद्यार्थीका लागि स्कुलको पोसाक थियो। बृद्धबृद्धाका लागि जाडोको न्यानो थियो। लत्ता-कपडामा त्यतिसारो छनोट थिएन। रङ्गको होइन, किनिदिनेको मनमा बग्ने कृतज्ञताको रङ्ग थियो। आफैंले टालटुल गरेर लगाए पनि आफ्ना छोराछोरी वा आफ्नाहरूलाई नयाँ कपडा लगाएको देख्दा फुरुङ्ग भएर रमाउने अभिभावकको खुशीमै दशैंको असली स्वाद थियो। त्यो बेला लुगा-कपडा आडम्बर वा नग्नता प्रदर्शनको साधन थिएन। उपभोक्तावादले छोएको थिएन। बरु दशैं त सुचिकारको माग बढ्ने, उनको सीपलाई सम्मान गर्ने र गाउँभरको आत्मीयता गाँसिने अवसर थियो।
विदेशिएका आफ्ना आफन्तहरू दशैंमा गाउँ फर्किन्थे। घर-घरमा भेटघाट हुन्थ्यो, गाउँ नै चमेली तेलको वास्नाले मगमगाउँथ्यो। केटाकेटी झुम्मिन्थे, दौतरीहरू मस्किन्थे, र वृद्धहरू मुस्कुराउथे। सुख-दुःख, सन्चो-बिसन्चोको खवर आदान-प्रदान हुन्थ्यो। ऋण-धन, ऐसो-पैसोको हिसाब-किताब हुन्थ्यो। “को आयो, को आएन” जस्ता खोज-खबरमा समय बित्थ्यो र किन आएन भनेर खोजिन्थ्यो। त्यो बेला घरहरू भुईमा हुन्थे, ढोकाहरू खुला हुन्थे, गाउँ नै जीवनको केन्द्र हुन्थ्यो। तर बिश्वव्यापी उपभोक्तावादी दलाल पूँजीवादले
हाम्रा राम्रा संस्कार र संस्कृति चिथर्यो। बिस्तारै हामी उनीहरूको चंगुलमा फस्यौं। अहिले बस्तिमा चमेलिको तेलको वास्ना होईन जाड-रक्सिको गन्ध आउँदछ। मोहिलाई बिषाक्त पेय-पदार्थले बिस्तापित गर्यो। आज कुनै घरमा मान्छे भेट्न कम्तिमा तीन वटा ढोका पार गर्नु पर्छ। आफ्नै श्रीमती-श्रीमान, छोरा-छोरी, नाती-नातिनाहरु पनि घरमा पेइङ गेष्ट जस्ता भएको अनुभूति हुन्छ। छिमेकको गाई-भैंसीको बानी-व्यवहारको समेत ज्ञान राख्ने हाम्रो समाज, आज आफ्नै सन्तान वा अभिभावकको चासो गर्न असफल छ।
पहिले विदेश भनेको भारत थियो, थोरै मानिस मात्र बेलायत, मलाया वा केही अन्य देशमा गएका थिए।
कृषि हाम्रो जीवन धान्ने आधार थियो। देशमा रोजगारी र अवसर नहुँदा नेपालीहरूले समुद्रपारको यात्रा सुरु गरे। विश्वभुमण्डलीकरणले यो प्रक्रिया झन तीव्र बनायो। आज एउटै घरका सदस्य फरक-फरक भूगोलमा बाँच्न बाध्य छन्, एक्लै र छरिएर। पहिले छोरा-छोरी घरमा आएर आमा-बाबु भेट्थे। आज उल्टो भयो, छोरा -बुहारीलाई भेट्न आमा-बाबुलाई जाने गरेका छन्। कस्तो विडम्बना! अपरिचित भूगोल, अपरिचित संस्कृति भएको कोठामा दशैं बन्धक भएको छ। जो जान सक्दैन वा जान चाहँदैन, उनी सम्झनाका आँसु पिउँदै बस्छन्। आज दशैं उमङ्ग होइन, पिडा भएर आउँछ।
दशैं हाम्रो संस्कृतिको मात्र होइन, हाम्रो पुनर्मिलनको उत्सव थियो। पहिले दशैं आउँदा घरभरि हर्ष–उल्लास भरिन्थ्यो। आमा–बाबुले आफ्ना सन्तानलाई टीका लगाएर आशीर्वाद दिने क्षण, नाती-नातिनाहरु आँगनमा खुशीले उफ्रने र कुद्ने दृश्य- यही नै दशैंको प्राण थियो। तर आज समय फेरिएको छ। बाध्यता होस् वा रहर, अधिकांश छोराछोरी देश छोडेर विदेशिएका छन्। विदेशबाट आउने रेमिट्यान्सले चामल, मासु, कपडा, यहाँसम्म कि नयाँ घर र सवारीसाधन पनि ल्याउँछ। तर त्यो पैसाले आमाको माया पोखिने ठाउँ, बाबुको आशीर्वाद दिने अनुहार, आँगनमा खेलिएको बाल्यकालको रमाइलो फिर्ता ल्याउन सक्दैन।
बजारका मिठा–स्वादिला परिकारले पेट त भर्छ, तर आमाले आफ्नै हातले पकाएको भातमा जस्तो ममताको स्वाद आउँदैन। महँगा रङ्ग र गहना किनेर सजिएको शरीर शायद चम्किलो देखिन्छ, तर मनभित्रको खालीपन कसैले देख्दैन। वृद्ध आमाबाबु आज पनि गाउँको घरमा पर्खाइमा बस्छन्। तिनीहरूको आँखामा अझै सन्तान फर्कने आशा झल्किन्छ। तर दशैंको दिन पनि उनीहरूका निधारमा टीका लगाउन कोही आउँदैन। फोन वा भिडियो कलमा देखिएका भौतिकरुपमा छुन नसकिने अनुहारमा दिएको आशीर्वादले दशैंलाई स्पर्श गर्न सक्दैन।
आज दशैं आएको छ, तर त्यो दशैं उमङ्ग होइन, पिडा बनेर आएको छ। सम्पन्नताको चमक बाहिर देखिन्छ, तर भित्रै कतै शून्यता फैलिएको छ। किनकि दशैंको असली मूल्य रेमिट्यान्सले ल्याउने पैसामा होइन, आमाबाबुका हातमा राखिएको टीकामा छ। आँगनमा गुन्जिएको हाँसोमा छ। अगेनाको वारीपरी संगै बसेर खाने खानामा छ।
तपाईंको जीवनमा कुनै अर्थ नराखेपनी सबैमा दसैंको शुभकामना!!!



Sundar lekh