काठमाडौं । माइतीघर मण्डलामा पाँच दिनदेखि जारी उखु किसानको धर्ना तथा प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि ऐक्यबद्धता प्रकट गरेका छन्।
आजको धर्नामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद चन्दा कार्की र जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष तथा पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादव उपस्थित भई आन्दोलनरत किसानप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।
उनीहरूले आन्दोलनरत किसानहरूको जायज माग सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्ने माग गरे। उखु किसानहरूले बक्यौता रकम भुक्तानी र नीति निर्माणमा सुधारको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन्।
यसअघि पनि विभिन्न दलका नेताहरूले आन्दोलन स्थलमा पुगेर समर्थन जनाइसकेका छन्। किसानहरूले भने सरकारसँग लिखित प्रतिबद्धता नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।


