काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मङ्गलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको जनाएका छन् ।
नेपाल महिला सङ्घकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मङ्गलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उनले महिला अधिकारका लागि उनको भूमिका अतुलनीय रहेको जनाए ।
त्यस अवसरमा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सृजना सिंहले मङ्गलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणाकी स्रोत रहेको बताइन् । महिलालाई चुलोचौकोबाट बाहिर निस्केर आफ्ना हक, अधिकारका निम्ति लड्न २००४ साल साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला महिला सङ्घ स्थापना भएको थियो ।


