काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको जनाएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको जनाए।
उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे। उनीहरुलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको उनले जनाए।
तर, आगो सल्काउन मद्दत गर्नेहरुमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरु समाधान गर्नुपर्ने जनाए। कांग्रेसले त्यसको तागत राख्ने पनि उनको धारणा छ।
उनले भने, ‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ। आगो बलेकोजस्तो भएको छ। जता गए पनि हामी कहीँ न कहीँ रिस, आक्रोश, असन्तुष्टि देख्छौँ। त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याइरहेका छन्। मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जेजे हालेका छन्। दन्दनी बालिरहेका छन्। कसले गरिरहेको छ, किन गरिरहेको छ? हामी तिनलाई चिन्छौँ, थाहा छ। कसले, कनि गरिरहेको छ, त्यसको भाषा के छ, तिनलाई चिन्नुपर्छ। प्रश्न गर्नुपर्छ। असन्तुष्टिको आगोमा कसले मट्टितेल खन्याएको छ, त्यसतर्फ मात्रे औंला ठड्याएर हुँदैन। असन्तुटिको आगो किन बलिरहेको छ, त्यसलाई बुझाउनुपर्छ। हाम्रो जिम्मेवारी हो।’


