सिराहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
सिराहा प्रहरी कार्यालयका अनुसार भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मङ्गलबार अपराह्न पक्राउ गरिएको हो। उनीहरू एकै मोटरसाइकलमा सवार थिए।
प्रहरीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनैजनालाई सिराहाको मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनीहरूलाई सिरहा जिल्ला अदालतमा उपस्थित गराई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी अधिकारीले बताएका छन्।


