एजेन्सी । उत्तराखण्डको उत्तरकाशीमा मंगलबार बादल फाट्दा आएको भीषण पहिराेमा परी भारतीय सेनाका ९ जवान बेपत्ता भएका छन्।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले बीबीसीसँग कुरा गर्दै धरालीको खीर गंगा नदीमा आएको विनाशकारी लेदोमा परी भारतीय सेनाका ९ जवान बेपत्ता भएका हुन्।
भारतीय सेना उद्धार कार्यमा सक्रिय रहेको उनको धारणा छ। उनले भने, ‘यस्तो त्रासपूर्ण स्थितिमा पनि १४ राजपूताना राइफल्सका कमान्डिङ अफिसर कर्नल हर्षवर्धन १५० जवानका साथमा राहत र उद्धार कार्यमा सक्रिय छन्।’
यद्यपि हर्षवर्धन नेतृत्वको टिम पनि भारी वर्षाका कारओ प्रभावित भएको छ। उनको टिमका ९ जवान बेपत्ता छन्। ११ जवान बेपत्ता भएकोमा दुई जनालाई सुरक्षित उद्धार गरिएको छ।
श्रीवास्तवले भने, ‘भारतीय सेनाको यो टिम नागरिकलाई बचाउनका लागि जुटिरहेको छ। यस टिमले अहिलेसम्म २० जनालाई सुरक्षित उद्धार गरेको छ। राहत कार्यमा पनि तीव्रता ल्याउन अतिरिक्त टिम पठाइएको छ।’
मंगलबार दिउँसो भारतीय समय अनुसार पौने २ बजेतिर अचानक आएको बाढी र पहिरोका कारण अहिलेसम्म चार जनाको मृत्यु पुष्टि भएको छ भने चार दर्जन बढी नागरिक बेपत्ता छन्। मात्र ३४ सेकेन्डको अवधिमा आएको विपद्मा परी दर्जनौं घर तथा होटलहरु पुरिएका छन्।


