काठमाडौं । नेपाली चलचित्रको बजार बिस्तारै अन्तर्राष्ट्रिय क्षेत्रमा फैलँदै छ । यसै क्रममा बंगलादेशमा पनि नेपाली चलचित्रको प्रदर्शनी सुरु गरिएको छ । त्यहाँ बंगलामा रुपान्तरण गरेर चलचित्र रिलिज गरिएको हो । दीपेन्द्र गौचनको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘केटी हराएको सूचना’को शुक्रवारबाट बंगलादेशमा रिलिज गरिएको छ ।
यो चलचित्र नेपालमा गत ११ माघबाट रिलिज गरिएको थियो । चलचित्रले नेपाली बक्स अफिसमा मध्यम व्यापार गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन थालिएको यो चलचित्रको विभिन्न देशको प्रदर्शन पछि बंगलादेशमा यति बेला रिलिज गरिएको निर्देशक गौचनले राजधानीलाई जानकारी गराए ।
यो चलचित्रको रिलिज अघि बिहीबार बेलुकी बंगलादेशमा प्रिमियर सो पनि गरिएको थियो । प्रिमियर सोमा बंगलादेशी चलचित्र उद्योगका विभिन्न चलचित्रकर्मीका साथै नेपालीहरूको पनि उल्लेख्य उपस्थिति रहेको निर्देशक गौचनले जनाए ।
यो चलचित्रको प्रिमियरमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पहिलो पटक बंगलादेशमा औपचारिक रुपमा नेपाली चलचित्र रिलिज हुन लागेकोमा निर्माण टिमलाई शुभकामना दिएका थिए । निर्देशक गौचनले पनि चलचित्रको ’boutमा प्रकाश पारेका थिए ।
यो चलचित्रमा नाजिर हुसेन र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रचार प्रसारको लागि निर्देशक गौचनसँगै अभिनेता नाजिर पनि अहिले बंगलादेशमा छन् । निर्देशक गौचनले बंगलादेशमा रिलिज भएको पहिलो नेपाली चलचित्र ‘केटी हराएको सूचना’ भएको बताएका छन् । चलचित्रलाई दर्शकले उत्साहपूर्वक हेरेको पनि उनको कथन छ । शुक्रवार बंगलादेशमा रिलिज गरिएको यो चलचित्रले शनिवार राम्रो प्रतिक्रिया पाएको पनि निर्देशक गौचनले बताएका छन् ।


