काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगे एमाले पार्टी कार्यालय च्यासलमा पुगेका छन् । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारी करिब १० वर्षपछि पहिलो पटक एमाले कार्यालय पुगेकी हुन् ।
राष्ट्रपति बनेपछि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी आइतबार दिउँसो अध्यक्ष ओलीभन्दा अगाडि एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । भण्डारी च्यासल पुग्दा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए ।
भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि च्यासल पुगेका हुन् । ओली च्यासल पुगेसँगै दुई नेताबिच छलफल सुरु भएको बताइएको छ ।
२०७२ साल कार्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन भने दोस्रो कार्यकाल समेत गरेर उनी २०७९ फागुन अन्तिमसम्म शीतल निवासमा बसेकी थिइन् । केही समय अगाडि एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीका बारेमा एमाले बैठकमा पक्ष विपक्षमा बहस भएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्यूरो बैठकमा यस विषयमा छलफल भएको थियो ।
यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणा अघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् ।
एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दै छ ।


