काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफूसँग कुनै सल्लाह नगरी एमालेमा फर्किएको उल्लेख गर्दै उनीबारे पार्टीले उपयुक्त निर्णय लिने जनाएका छन्।
पत्रकार विजयकुमार पाण्डेलाई बिहीबार दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टीसँग फर्कने बारे कुनै परामर्श नगरेको जनाए। उनले पत्रकार पाण्डेसँग भने- ‘पार्टीको अध्यक्ष म छु, अध्यक्षता गरिरहेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु , कसरी काम गरौं, मलाई सक्रिय राजनीतिमा आउन मन छ, आउन मिल्छ मिल्दैन । आउँ नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन!’
भण्डारीभन्दा अघि राष्ट्रपति भएका डा. रामवरण यादवले थिति बसाएको भन्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीको कदमप्रति असन्तुष्टि पनि व्यक्त गरे।
‘विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन। पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभयो। उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन,’ उनले अन्तर्वार्ताका क्रममा भने।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले प्रक्रियागत विषयबारे पनि परामर्श नगरेको बताए। ‘संवैधानिक प्रक्रिया कस्तो हुन्छ ? अथवा प्रणालीगत अवस्था कस्तो हुन्छ ? त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले सक्रिय राजनीतिमा आउँदा सिंगो देशको सर्वमान्यबाट दल विशेषमा आउँदा यी कुनै विषयमा विचार विमर्श अन्तर्राष्ट्रिय अभ्यास के छ ? ती कुरामा विचार विमर्श गरौं भनेर भएन,’ उनले भने।
आफूले पार्टीबाट राष्ट्रपतिका लागि पठाएको व्यक्तिबाट भएको यस कदमबारे पार्टीले छिट्टै निर्णय गर्ने उनले बताए। ‘अरुसँग थाहा छैन मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक सरसल्लाह भएन । पार्टीमा लिखित मौखिक केही भएन । यसैले पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्छ, उहाँ आफ्नै हिसाबले राष्ट्रपति हुनु भएको हैन । उहाँ हामीले उम्मेदवार बनाएपछि राष्ट्रपति हुनुभएको हो । पार्टी छोड्नु भएर जानुभएको हो ।’
भण्डारी राजनीतिमा आउने कुराले गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र उनकै जीवनमा के असर पर्छ भन्नेबारे सल्लाह गरेर निर्णय गर्ने उनले बताए। ‘हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिक रूपमा बोलेका कुरा के हुन् ? उहाँसँग सोध्नुपर्छ । धेरै ढिलो नगरी निर्णय गर्छौं,’ उनले भने।


