काठमाडौं । नेकपा एमालेकी प्रमुख सचेतक सुनिता बरालले संसदलाई अफवाह र गलत प्रचारको मञ्च नबनाउन चेतावनी दिएकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रमणमा गएका केही व्यक्ति फर्किन नसकेको आरोप लगाएपछि सचेतक बरालले कडा प्रतिक्रिया जनाएकी हुन्।
संसदमा बोल्दै उनले भनिन्, “यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने र टिप्पणी गर्ने ठाउँ होइन। तथ्यको आधारमा कुरा गरौँ। प्रधानमन्त्री दल विशेषका होइनन्, राष्ट्रका कार्यकारी प्रमुखका हैसियतले विदेश जानुभएको हो।”
बरालले भाषा र परिभाषाको ज्ञान नहुनु संसदका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै रास्वपाका नेताहरूमाथि कटाक्ष गरिन्। “बोल्दा हेक्का पुर्याएर बोल्नुस्, नत्र हामी भाषा र परिभाषा सिकाउने तयारीमा छौं,” उनले चुनौती दिइन्।
प्रधानमन्त्रीसँग गएको प्रतिनिधिमण्डलको विवरण आवश्यक परे प्रमाणसहित फेहरिस्त दिन आफूहरू तयार रहेको बरालको भनाइ छ। उनले थपिन्, “प्रधानमन्त्रीले देशको गौरव बढाएर फर्कँदा किन छटपटी भयो? प्रश्न उठाउनुको कारण के हो?”
सचेतक बरालले रास्वपाको राष्ट्रप्रेमबारे पनि प्रश्न उठाउँदै विगतका तथ्यांकहरूले त्यो स्पष्ट भइसकेको दाबी गरिन्।


