काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले संघीयताको पूर्ण कार्यान्वयनका लागि पार्टीले संघको अधिकार प्रदेशमा हस्तान्तरणका लागि आवश्यक पहल लिनुपर्ने जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन बुधबार आमन्त्रित सदस्यको हैसियतमा धारणा राख्ने क्रममा उनले संघमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरेर संघीयताको पूर्ण कार्यान्वयनमा पार्टीले पहल गर्नुपर्ने जनाएका हुन् ।
उनले जनप्रतिनिधिहरूलाई पार्टीप्रति थप उत्तरदायी र जवाफदेही बनाउन तहगत पार्टी संरचनालाई तहगत सरकारको निर्माण, निर्देशन र मूल्यांकन गर्ने अधिकार दिनुपर्ने पनि जनाए ।
उनले पार्टीमा योगदान दिँदै आएका कार्यकर्ताहरूमा बढेको वितृष्णा कम गर्न पार्टीको केन्द्रीय तथा प्रदेश विभागमा मनोनित गर्दा जिल्लाको सिफारिसका आधारमा नियुक्त गर्ने थिति बसाउन पनि आग्रह गरे ।


