वीरगन्ज । नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसङ्ख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी भएको जनाएका छन ।
उनले ‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ, सबैभन्दा बढी श्रमिक यही प्रदेशले पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ,’ उनले तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘तर, जब बजेट विनियोजनको बेला आउँछ, मधेशले आफ्नो जनसङ्ख्या र योगदानको अनुपातमा सँधै विभेद र उपेक्षा मात्रै भोग्यो ।’
‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौँ लगाएर टुंग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उनले भने, ‘विधायिकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिन सक्नुपर्दछ ।’ एक फरक प्रसंगमा महरले अगाडि भने, ‘नीति महाधिवेशन गर्न बसेको महासमितिको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन ।
’ पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू निष्क्रिय हुँदा पार्टीमा नयाँ ऊर्जाको सञ्चार हुन नसकेको र विधानको कार्यान्वयनमा नेतृत्व चुकेको बताए । ‘शासन राम्रो हुन पहिला दल राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अब १६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक सबै विषयको समीक्षा हुन्छ उनले थपे ।
उनले सरकारको उदासीनताले मधेशका आधारभूत समस्या झनै विकराल बनेको जनाए । ‘चुरेको अनियन्त्रित दोहनले जलवायु परिवर्तनको प्रत्यक्ष कोपभाजन मधेशले भोगिरहेको छ । पहिले २०० फिटमा आउने पानी आज ५०० फिट खन्दा पनि मुस्किलले आउँछ,’ उनले पर्यावरणीय संकटतर्फ संकेत गर्दै भने, ‘तर, सरकारको प्राथमिकतामा यी विषय कहिल्यै परेनन् ।’
नेता महरले मधेशमा महिला हिंसा, दाइजो प्रथा, दलित उत्पीडन, नागरिकता समस्या र देशकै सबैभन्दा बढी विद्यालय छाड्ने दर (ड्रपआउट रेट) हुनुले प्रदेशको भविष्यमाथि खेलबाड भइरहेको जनाए । ‘सबै चुनौतीका बाबजुद, स्थानीय तहमा देशभरबाट निर्वाचित महिलामध्ये सबैभन्दा बढी मधेशबाटै हुनु यहाँको अन्तरनिहित ऊर्जाको प्रमाण हो,’ उनले भने, ‘कांग्रेस अब यही ऊर्जालाई साथ लिएर मधेशको नेतृत्व गर्न तयार छ ।’


