काठमाडौ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । सोहीअनुरुप प्रधानमन्त्री बैठकमा पुगेका थिए ।
तर बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले विरोध सुरु गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिनका लागि समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सदनमा अवरोध उत्पन्न भयो।
कालो पोसाक र निलो रिबनसहित वेल घेराउ गर्न पुगेका सांसदहरूको विरोधका कारण सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराए। सो घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओली बैठककक्षबाट बाहिरिए।
बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूले प्रधानमन्त्रीलाई सोधे, ‘आज संसद्मा बोल्न पाउनु भएन नि हैन ?’
खुड्किला ओर्लँदै गरेको प्रधानमन्त्रीले केही समय त्यसको जवाफ फर्काएनन् । तर एकपछि अर्को प्रश्न उठ्दैगर्दा उनले सञ्चारकर्मीमाथि नै प्रश्न तेर्साए । उनले सोधे, ‘मज्जा आयो ?’
त्यसपछि केही नबोली उनी आफ्नो गाडी तर्फ लागे ।


