झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूलाई द्रुत गतिमा पारित गराउन सत्ता साझेदार दलहरूसँग समझदारी गरिएको दाबी गरेका छन्।
उनले नागरिकता विधेयक, शिक्षा विधेयक र संघीय निजामती विधेयक पारित गराउनका लागि संसद् खुलाउन सहमति गरिएको जनाए।
झापाको दमकमा शनिबार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले यी विधेयकहरू ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका हौँ। त्यसैले विधेयक पास नहुने स्थिति आएपछि सदन खुलाउने सहमति गरिएको हो।’
उनले संसद् खुलाउन गरिएको समझदारी सम्बन्धमा बजारमा आएका अन्य हल्लाहरू ‘वाहियात भएको दोहोर्याए।
यसैगरी, उनले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेसँग बढी नजिकिँदा माओवादी पार्टीलाई जनताले छाड्दै गएको स्वीकार गरे।
तर, अब समाजवादी क्रान्तिको पूर्वाधार निर्माण गर्न विभिन्न वर्ग समूहहरूलाई सक्रिय बनाउने दिशामा पार्टी लागेको उनको भनाइ थियो। प्रचण्डले विगतमा पार्टीले विभिन्न जातीय समूहहरूलाई बेवास्ता गरेको पनि स्वीकार गरे।


