काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग राख्दै भइरहेको आन्दोलन नयाँ ढंगले अघि बढ्ने जनाएका छन् ।
राप्रपा नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले आफुहरूको आन्दोलनमा केही कमीकमजोरी भएको भन्दै त्यसलाई सच्चाएर नयाँ ढंगले अघि बढाउने जनाएका हुन् ।
आफूहरूको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रहसमेत गरेका छन् । आफूहरूको मुद्दालाई निर्णायक तहमा लैजान संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रुपमा आउने उनले दाबी गरे ।
संयुक्त जनआन्दोलन परिचालन समितिबाट केही समूहहरू अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले अहिले पनि एकजुट रहेको जिकिर गरे । उहाले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरंकुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको जनाउनुभयो ।


