काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं जिल्ला अदालतद्वारा नेपालखबर डटकम र बिजमाण्डु डटकमविरुद्ध तत्काल समाचार हटाउनु भन्दै जारी गरिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले अदालतको उक्त आदेश प्रेस स्वतन्त्रता, संविधान र अन्तर्राष्ट्रिय मान्यता विपरीत रहेको ठहर गर्दै आपत्ति जनाएको हो।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार दुई अनलाइन मिडियामा प्रकाशित समाचारहरू हटाउन र यस्ता ‘अप्रमाणित, तथ्यहीन’ सामग्री प्रकाशन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
अदालतको सो आदेश प्रेस स्वतन्त्रता र संवैधानिक मर्म विपरित रहेको महासंघले जनाएको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यममा प्रकाशितरप्रसारित समाचारप्रति चित्त नबुझेको अवस्थामा उजुरी लिने र आवश्यक कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपालको हो। त्यसलाई नजरअन्दाज गर्दै अदालतबाट आएको आदेश प्रेस स्वतन्त्रता र संवैधानिक मर्म विपरीत छ।”
महासंघकाले नेपालको संविधान २०७२ को प्रस्तावनाले ‘पूर्ण प्रेस स्वतन्त्रता’को प्रत्याभूति दिएको र कुनै पनि निकायको आदेशले त्यसलाई सीमित गर्न नसक्ने जनाएको छ। लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्ने महासंघ दृढ रहँदा रहँदै अदालतले गरेको सो आदेश आपत्तिजनक रहेको महासंघले जनाएको छ । “ तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ ।”
महासंघले आदेशप्रति पुनर्विचार गर्न आग्रह गर्दै अन्यथा कानुनी प्रतिवाद तथा आवश्यक गतिविधि अघि बढाउने चेतावनी समेत दिएको छ। साथै, महासंघले सम्पूर्ण सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।



