हङकङ । ३७ वर्षपछि हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आफूभन्दा माथिल्लो वरियतामा रहेको हङकङलाई गोलरहित बराबरीमा रोकेको हो।
घरेलु मैदानमा हङकङले नेपालमाथि लगातार आक्रमण गरे पनि कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउहरु गर्दै नेपाललाई गोल खानबाट जोगाए। दोस्रो हाफमा पनि हङकङले नेपालमाथि लगातार दबाब बनाए पनि गोल गर्न सकेन।
दोस्रो हाफमा पनि नेपाली गोलकिपर किरणले नै उत्कृष्ट बचाउहरु गरे। नेपालका लागि मणि लामा इन्जुरी टाइममा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए।
एएफसी एसियन कप छनोटको तयारस्वरुप यो मैत्रीपूर्ण खेल खेलिएको हो। नेपालले पनि खेलमा केही राम्रा अवसर बनाए पनि फिनिसिङ गर्न सकेन।
एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ। नेपाली टोली उतैबाट लाओस जानेछ।


