काठमाडौं । जिल्ला अदालत काठमाडौंले भिजिट भिसा सेटिङमा नक्कली कागजात बनाएर विदेश पठाएको आरोपमा मुद्दा दायर भएका अध्यागमन कार्यालयका ९ अधिकृतसहित १७ जनालाई सफाइ दिएको छ । यद्यपि, तीन जना बिचौलियालाई भने कसुर ठहर गर्दै सजाय तोकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा दायर गरेको थियो । न्यायाधीश रामप्रसाद शर्माको एकल इजलासले गीता शाह, अरुण दाहाल र सरोज कुमार यादवलाई दोषी ठहर गर्दै बाँकी १७ जनालाई सफाइ दिएको हो ।
अदालतले नक्कली प्रहरी रिपोर्ट र श्रम स्वीकृतिसम्बन्धी कागजात कीर्ते गरेको अभियोग शाह, दाहाल र यादवको हकमा पुष्टि भएको ठहर गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २७६(१)(२) बमोजिम शाह र दाहाललाई जनही ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै, दफा २७६(१)(२) र ३६(१)(ख) बमोजिम यादवलाई ४ महिना कैद र १४ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । अपराध पीडित संरक्षण ऐन, २०७४ को दफा ४१ बमोजिम शाह र दाहालबाट जनही ८०० रुपैयाँ र यादवबाट ५०० रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश दिइएको छ ।
गीता शाह: २०८० माघ २३ मा ५ लाख धरौटीमा छुटेकी शाहको न्यायिक हिरासतको अवधि (२ महिना ७ दिन) कट्टा गरी बाँकी ३ महिना २३ दिन कैद र २० हजार रुपैयाँ जरिवाना असुल गर्न आदेश भएको छ ।
अरुण दाहाल: २०८० मंसिर १७ देखि माघ २३ सम्म थुनामा बसेकाले बाँकी जरिवाना २० हजार र ८०० रुपैयाँ पीडित राहत कोषमा दाखिला गरी थुनामुक्त गर्न आदेश भएको छ ।
सरोज कुमार यादव: ७ लाख धरौटीमा तारेखमा रहेका यादवको हिरासत अवधि (४ महिना १९ दिन) कट्टा गरी बाँकी ९,३०० रुपैयाँ जरिवाना र ५०० रुपैयाँ पीडित राहत कोषमा असुल गर्न आदेशमा उल्लेख छ ।
यिनले पाए सफाई
सफाइ पाउनेहरूमा अध्यागमन अधिकृतहरू नरवीर खड्का, तारा बहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु प्रसाद आचार्य, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागो लिम्बू छन् । यस्तै, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रवीन्द्र अर्याल, विनोद कार्की, केदार खड्का र कौशिला मगरले पनि सफाइ पाएका छन् ।


