काठमाडौं । जोर्डन र उज्बेकिस्तानले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक फिफा विश्वकपमा स्थान बनाएका छन ।
दुबै टोली पहिलो पटक २०२६ मा हुने फिफा विश्वकपमा छनोट भएका हुन् । जोर्डन मस्कटमा ओमानमाथि ३-० को प्रभावशाली जित निकाल्दै विश्वकप नजिक पुगेको थियो । अलि ओलवानले हृयाटि्रक गर्दै जितको नायक बने । तर छनोट पक्का गर्न दक्षिण कोरिया र इराकबीचको खेलको नतिजा कुर्नु पर्यो ।
अर्को खेलमा दक्षिण कोरियाले इराकलाई २-० ले पराजित गरेपछि जोर्डनले विश्वकपको टिकट सुनिश्चित गर्यो । यससँगै दक्षिण कोरिया पनि लगातार ११औं पटक विश्वकपमा पुग्न सफल भयो । गएरातिनै उज्बेकिस्तानले अबुधाबीमा युएईसँग गोल रहित बराबरी खेल्दै पहिलो पटक विश्वकपमा स्थान बनायो । १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि उज्बेकिस्तानले पहिलो पटक विश्वकपको टिकट काटेको हो ।
त्यसपछि प्रशंसकहरूले उल्लासपूर्वक यो ऐतिहासिक सफलता मनाएका छन । दुवै देशका लागि यो उपलब्धि ऐतिहासिक क्षण बनेको छ । अब यी दुई टोलीले अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा हुने विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्नेछन् ।
