काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूका प्रदर्शनलाई प्रतिबन्ध लगाउने सक्ने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले राजावादी गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भएको भन्दै अहिलेसम्म नलगाएको बताएका हुन् ।
उनले राजावादीहरुले गरेका गतिविधि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी भएको भन्दै संविधान विरोधी क्रियाकलाप क्रियाकलाप बढेको दाबी गरे ।
जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको रूपमा सरकारले भव्य रूपमा मनाउन लागेकै दिन राजावादीहरुले प्रदर्शन गर्ने विषयलाई संकेत गर्दै उनले भने ‘त्यो दिनमा गणतन्त्रविरुद्ध राजावादीहरूले चुनौती दिने फेरि प्रयास गरेका छन्, हामीले उहाँहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिएका छौँ। त्यो हाम्रो कमजोरी होइन, हामी डराएका होइन। उदारतापूर्वक अभ्यास गरौँ भनेर छाडिइएका हौँ। तर सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन। प्रतिवाद हुन्छ। त्यो गतिविधिले कस्तो रूप लिन्छ त्यही अनुसार सरकारले प्रतिवाद गर्छ।’