काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)बारे छानबिन गर्न समिति गठन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद(राखेप) कार्यकारी समितिको शुक्रबार बसेको ५९ औं बैठकले एन्फामाथि छानबिन गर्न उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा उपसमिति गठन गरेको राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी गराए ।
उक्त समितिमा कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ, चार्टर एकाउन्टेन्ट प्रकाश अधिकारी र शिक्षा तथा खेलकुद मन्त्रालय प्रतिनिधि सदस्यको रुपमा छन् ।
राखेप खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानु राजा केसी उपसमितिको सचिवको जिम्मेवारी दिइएको छ । समितिलाई ७ दिनको समयसीमा दिइएको छ । एन्फाविरुद्ध राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम विक्री, राखेपको निर्देशन अवज्ञा र अवैध भत्ता वितरण, महिला साफ गेम २०२४ मा होटल दररेटमा कमिसन र भ्रष्टाचार, बिनास्वीकृति आफुखुशी वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्ति गरेको उजुरी परेको थियो ।
यस्तै विभिन्न समयमा भएका टेण्डरहरु प्रचलित कानून बमोजिम नगरको, विभिन्न प्रतियोगिताहरुमा मार्केटिङ्ग, डिजिटल, बोर्डकाष्टिङ्ग र टिकेटिङ्ग राईट दिँदा भ्रष्टाचार गरेको समेतका व्यहोरा उठाइ एन्फाभित्र भइरहेको गम्भीर अनियमितता, भ्रष्टाचार र पदको दुरुपयोग सम्बन्धमा छानविन गरी कारबाही गर्नसमेत उजुरी परेको राखेपले जनाएको छ ।
खेलकुद मन्त्रालयमा उजुरी परेपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्देशन दिएका हुन् । उपसमिति संयोजक श्रेष्ठ केही दिनअघि मात्र राखेप उपाध्यक्ष नियुक्त भएका थिए । उनी राष्ट्रिय फुटबल टोलीका पुर्वगोलकिपर समेत हुन् ।


