काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मखन आगलागीको घटनाबारे छानबिन समिति गठन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छन्। उनले दमकल स्टेशननजिकै आगलागी हुँदा पनि समयमा किन नियन्त्रण हुन सकेन भन्ने कारण पत्ता लगाउन छानबिन गर्न निर्देशन दिएकी हुन्।
‘वैशाख ३१ गते मखनमा आगलागी हुँदा ३ वटा घर जले । दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्न सक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो? यसमा के समस्या थियो? के कारण थियो? कसको लापर्वाही थियो? जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानविन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन’ उनले भनिन् ।
वैशाख ३१ गते बिहान ६:५० बजे दयाराम श्रेष्ठको घरबाट आगो बल्न सुरु भएको थियो । आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठको पाँचतले घर, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगगालीका कारण आएको धुँवामा निस्सासिएर एक जना ज्येष्ठ महिलाको मृत्यु भएको थियो । त्यसलगत्तै उपप्रमुख डंगोल र वडाध्यक्ष विनोद कुमार राजभण्डारीले घटनाको अनुगमन गरेका थिए।

