एजेन्सी । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले वर्षाले प्रभावित खेलमा बहराइनलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ ।
थाइल्याण्डमा बिहीबार सम्पन्न खेलमा बहराइनले पहिलो ब्याटिङ गर्दै १२.४ ओभरमा ७६ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भयो । त्यसपछि डकवर्थ-लुइस विधिअनुसार नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइयो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा २४ रनको विस्फोटक इनिङ खेल्दै टिमलाई जितसम्म पुर्याइन् । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । अर्की ब्याटर पूजा महतोले ११ बलमा १३ रन बनाउँदा दुई चौका प्रहार गरिन् ।
ओपनर सम्झना खड्का ५ रनमै आउट भएकी थिइन् । बहराइनका लागि पवित्रा शेट्टीले तीन विकेट लिइन् ।
त्यसअघि बहराइनका लागि रासिका रोड्रिगोले २९ बलमा २४ रन बनाउँदै राम्रो सुरुआत दिलाएकी थिइन् । तर, वर्षाले खेल अवरुद्ध गरेपछि उनीहरूको स्कोर १२.४ ओभरमा ७६/३ मा सीमित रह्यो ।
जितसँगै नेपाल समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । नेपालले ४ खेलमा दुई जित, एक हार र एक रद्द खेलसहित ५ अंक जोडेको छ । हङकङले ३ खेलमा २ जितसहित ४ अंक बनाएको छ भने बहराइनको ३ खेलमा एक अंक मात्रै छ ।
अब सुपर थ्री चरणमा प्रवेशका लागि नेपाल हङकङको नतिजामा निर्भर रहनेछ । यदि शुक्रबार बहराइनले हङकङलाई पराजित गर्यो भने नेपालले सुपर थ्रीमा स्थान बनाउनेछ ।
प्रतियोगितामा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टोली सुपर थ्री चरणमा पुग्ने छन् । त्यहाँबाट शीर्ष दुई टिमले आगामी वर्ष हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।


