काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा अहिले गम्भीर रूपान्तरणको आवश्यकता छ भन्ने बहस चलिरहँदा, एकातिर कर्मचारी र जनतामैत्री कार्यक्रमहरू अघि बढाउने नेतृत्व प्रयासरत छन् भने अर्कातिर माफिया शैलीमा टेन्डर कब्जा गर्ने गिरोहले स्वास्थ्य प्रणालीलाई बन्धक बनाउँदै आएको तथ्य उजागर हुन थालेको छ।
विगत केही समयदेखि मेडिकल सप्लायर्सहरूले मिडिया र सम्बन्ध सञ्जालको आडमा अस्पताल र मन्त्रालयका कर्मचारीहरूलाई धम्क्याउँदै टेन्डर हात पार्ने गरेको गुनासो उच्चस्तरीय स्रोतहरूबाट आएको छ। ती सप्लायर्सले टेन्डर नपाए मुद्दा हाल्ने, अनावश्यक अवरोध खडा गर्ने, र आफू अनुकूल स्पेसिफिकेसन बनाएर प्रतिस्पर्धालाई तह लगाउने प्रवृत्तिले स्वास्थ्य प्रणालीलाई निजी स्वार्थमा केन्द्रित बनाउँदै लगेको छ। यसको पछिल्लो उदाहरण बनेका छन् मेडइक्विप्स नेपाल प्रा.लि. का निर्देशक केशव पाण्डे। गेटा मेडिकल कलेजमा करिब १ करोड ६० लाख रुपैयाँमा भएको डिजिटल रेडियोग्राफी (DR) सिस्टम को खरिदमा उनीको प्रत्यक्ष स्वार्थ देखिएको छ।
अस्पतालका तत्कालीन निर्देशक डा. विप्लव सापकोटाको कार्यकालमा गरिएको खरिदमा स्पेक त्यस्तो बनाइएको थियो जुन फेयर ट्रेड प्रा.लि. लाई मात्र अनुकूल हुने गरी डिजाइन गरिएको थियो। उल्लेखनीय कुरा के छ भने, सो कम्पनीमा पनि पाण्डेको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता देखिन्छ। बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले तयार पारेको स्पेसिफिकेसन अनुसार जापानी ब्रान्ड कोनिका माइनोल्टा छनोट गरिएको थियो, जसका नेपाली वितरक फेयर ट्रेड हुन्। पाण्डेले जापानमा सो ब्रान्डका अधिकारीसँग भेटेको तस्बिर आफैं सार्वजनिक गर्दै आफ्नो पहुँच देखाउँदै आएका छन्। यस्तो स्थितिमा खरिद प्रक्रिया स्वार्थबाट प्रेरित नभएको भन्न गाह्रो छ। स्वार्थको अर्को तह मिडिया क्षेत्रमा देखिएको छ।
पाथसीड नेपाल प्रा.लि. नामक कम्पनीमार्फत सञ्चालित अनलाइन पोर्टल “उकेरा” लाई केशव पाण्डेले आफ्ना स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको प्रमाण देखिन थालेका छन्। सो कम्पनीमा पाण्डेको पत्नी गरिमा पौडेलको ६२५० कित्ता सेयर रहेको देखिन्छ। “उकेरा” का सम्पादक के.पी. ढुंगाना जस्ता ख्यातिप्राप्त पत्रकारहरू संलग्न भए पनि, समाचार छनोट र प्रस्तुतिमा “conflict of interest” स्पष्ट झल्किन्छ। सूत्रका अनुसार, मिडियाको दुरुपयोग गर्दै स्वास्थ्य मन्त्रालयमा बजेट हाल्न दबाब दिने, आफ्ना अनुकूल कर्मचारीहरूलाई प्रयोग गर्ने, र टेन्डर नपाए पछि उल्टै प्रतिशोधको शैलीमा समाचार प्रकाशन गर्ने कार्य शैली पाण्डेले अभ्यास गर्दै आएका छन्। भारतमा चर्चित टु-जी स्पेक्ट्रम घोटाला जस्तै नेपालमा पनि व्यापारिक स्वार्थमा मिडिया प्रयोगको अभ्यास सुरु भएको आशंका गर्न सकिन्छ। जब श्रमजीवी पत्रकारहरू न्यून पारिश्रमिकमा संघर्ष गरिरहेका छन्, त्यही बेलामा आफ्नो निजी लाभका लागि मिडिया स्वामित्वमा लगानी गरी राष्ट्रको स्वास्थ्य प्रणाली नै बन्धक बनाउने प्रयास गम्भीर चिन्ताको विषय हो। युवानेता प्रदीप पौडेलको नेतृत्वमा हाल स्वास्थ्य मन्त्रालयले जनकल्याणकारी योजनाहरू अघि बढाइरहेको भए पनि यस्तो प्रवृत्तिले सत्य, पारदर्शिता र संस्थागत मर्यादामा आँच पुर्याइरहेको छ।