काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका निवर्तनमान इन्चार्ज तथा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारीले पार्टीको सबै पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
बिहीबार बसेको केन्द्रीय कमिटीको निर्णयमा आपत्ति जनउँदै भण्डारीले सबै पदीय जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् । उनले पार्टीका कार्यबाहक सभापतिलाई एक पत्र लेख्दै राजीनामा दिएका हुन् ।
बिहीबार बसेको रास्पाको केन्द्रीय कमिटीको बैठकले नयाँ प्रदेश इन्चार्ज तोकेकोमा आपत्ति जनाउँदै उनले राजनीनामा दिएका हुन् । उनले आफूसँग सामान्य छलफल पनि नगरी पदबाट बर्खास्त गरेको भन्दै आपत्ति जनाएका छन् । ‘पार्टीको केन्द्रीय नेतृत्वले देखाएको यो प्रवृत्ति पार्टीको मूल्य र मान्यताविपरीत छ।
सामान्य छलफल समेत नगरी जिम्मेवारीबाट बर्खास्त गरिनुले ममाथि नैतिक दबाब, नैतिक संकट सिर्जना भएको छ । केन्द्रीय नेतृत्वले देखाएको यस प्रकारको प्रवृत्तिलाई घोर भर्त्सना गर्दै, आइन्दा जो कसै रास्वपाका जिम्मेवार साथीहरूप्रति पनि यस प्रकारको व्यवहार नगर्न हुन अनुरोध गर्दै आजकै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गर्दछु,’ उनले आफ्नो पत्रमा भनेका छन् ।


