-सबि भट्टराई
आजभन्दा झण्डै १७ वर्षअगाडि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । २०६२÷०६३ को दोस्रो जनआन्दोलन सफल भएसँगै तत्कालीन सात दललाई ‘जनताको नासो’ बुझाएका राजा ज्ञानेन्द्र शाह २०६५ जेठयता ‘पूर्वराजा’ बनेका छन् । उनले स्वदेशमै बस्ने इच्छा गर्दै आमजनसाधारणसरह जीवनयापन गर्दै आएका छन् । ऐतिहासिक दिन, पर्वविशेष र नयाँ वर्षमा उनले देशवासीका नाममा वक्तव्य जारी गर्दै आएका छन् ।
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा ०८१ चैत ३१ मा पनि उनको सार्वजनिक शुभकामनाको भिडिओ वक्तव्य आयो । अरु बेला त्यतिधेरै टीकाटिप्पणी नहुने उनको वक्तव्यलाई लिएर यसपटक संघीय संसद्मा दोस्रो ठूलो दल नेकपा एमालेले भने तीव्र असन्तुष्टि मात्र होइन आपत्ति नै जनायो। अन्य राजनीतिक दल र तिनका नेताहरुबाट पूर्वराजाको वक्तव्यलाई लिएर त्यतिधेरै टिप्पणी भएन, जति एमाले र यसका नेताहरुले गरे । आम सर्वसाधारणबाट समेत पूर्वराजाको वक्तव्यमा विरोध आएन बरु सकारात्मक प्रतिक्रिया नै व्यक्त भएको सामाजिक सञ्जालहरुमा गरिएका पोस्टहरुबाट थाहा हुन्छ ।
अन्य कसैले खोट देखाउन नसकेको पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमा नेकपा एमालेको नेतृत्वपंक्तिले भने गम्भीर चलखेल रहेको ठहर गरेको छ । सत्ता हाँकिरहेको दल नेकपा एमाले पूर्वराजाप्रति पछिल्लो समय किन आक्रोशित भइरहेको छ त ? यसको उत्तर खोज्न केही दिनअगाडिको पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ । गत चैत १५ गते राजावादीहरुले राजतन्त्र फर्काउने भन्दै काठमाडौंको तीनकुनेमा ‘जनप्रदर्शन’ आयोजना गरेका थिए । तर ‘जनप्रदर्शन’ हुन नपाउँदै त्यो भीड अराजकतामा परिणत भयो । विवादास्पद व्यवसायी दुर्गा व्यवसायीको अगुवाइमा प्रदर्शन सुरु हुनलाग्दा प्रहरीसँगको धक्कामुक्कीपछि आगजनी र तोडफोडका घटनाहरु भए । त्यसमा एक पत्रकार र अर्का एक जना सर्वसाधारणको मृत्यु भयो भने अन्य थुप्रै सर्वसाधारणले प्रहरीको गोलीको सामना गरे । यसबारे ठूला मिडियाहरु ‘मौनप्रायः’ बसे भने सामाजिक सञ्जालमा नेपाल प्रहरीको तीव्र आलोचना भयो । मानवअधिकार आयोगले पनि प्रशंसा बटुल्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीका गृहमन्त्री रमेश लेखकमाथि अत्यधिक बल प्रयोग गरेको, तीन हजार प्रदर्शनकारीको भीड नियन्त्रण लिन नसकेको, सर्वसाधारणको सुरक्षामा ध्यान नदिएकोजस्ता टिप्पणीसहित व्यापक आलोचना भयो ।
त्यही चैत १५ पछि नेकपा एमाले र यसका नेताहरु देखिने गरी पूर्वराजाप्रति आक्रोशित हुँदै आएका छन् । संघीय संसद्को बैठक होस् या संसदीय समिति, पूर्वराजा ज्ञानेन्द्रलाई त्यसदिन भएको वितण्डामा भागिदार बनाई कठघरामा उभ्याउन माग गर्दै आएका छन् । महेश बर्तौला, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली मात्र होइन, स्वयं प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसमेत पूर्वराजाप्रति रोष प्रकट गरिरहेका छन् । सोमबार मात्रै नेकपा एमालेको सचिवालय बैठक बसेको थियो । त्यसमा पूर्वराजाको गतिविधि र सक्रियताप्रति एमालेले सांगठनिक रुपमै आपत्ति जनाएको थियो ।
पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्षको शुभकामना वक्तव्यमा चैत १५ मा भएको घटनालाई दुःखद भनी टिप्पणी गरेका थिए । अप्रत्यक्ष रुपमा उनले त्यसलाई ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता’ भनेका थिए । ‘त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने’ उनको सन्देश थियो । त्यस दिन ‘जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, यो सुन्दा दुःख लागेको’ उनको भनाइ थियो । यहाँसम्म त ठीकै थियो तर उनले जनतामा जागरुकता पैदा हुनु सकारात्मक भएको टिप्पणी गर्दै पछिल्ला राजावादी सक्रियताको समर्थन गरेपछि एमाले र यसका नेताहरु उनीप्रति बढी रुष्ट देखिएको बुझ्न सकिन्छ । पूर्वराजाले वक्तव्यमार्फत देश, जनता, अर्थतन्त्र, युवा पलायनजस्ता आम विषयलाई वक्तव्यमा उतारेका थिए । यसले पनि पछिल्लो समय आलोचनाको शिकार भइरहेको सरकार हाँकिरहेको दललाई आफ्नो कमजोरी ढाक्ने निहुँका रुपमा विरोध गरेको हो कि !
होइन भने त एउटा पूर्वराजाको वक्तव्यलाई लिएर आम सर्वसाधारण बेखुस देखिँदैनन् । राष्ट्रमा देखिएका कमजोरी र समस्या औँल्याउँदा सर्वसाधारण किन बेखुस हुने ? तर देश चलाइरहेको एमालेलाई भने यी कुराले चिर्चिराहठ भएको बुझ्न सकिन्छ । पछिल्लो समय पूर्वराजाको धार्मिक तीर्थाटन, भ्रमण र वाहवाहीले पनि एमाले र यसका नेताहरुलाई अप्ठ्यारो महशुस गराएको हुनुपर्छ । त्योबाहेक चैत १५ को घटनामा सरकारको कमजोरी ढाक्न पूर्वराजाको वक्तव्यलाई एमालेले हतियार बनाएको पनि हुनसक्छ । जनधारणा साप्ताहिक


