काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष धवल शमशेर राणा र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री रवीन्द्र मिश्रलगायतलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।
सरकारी वकिलको कार्यालयमा उपस्थित गराउँदा अन्यलाई हत्कडी र थुनुवा जर्सी लगाइएको थियो भने सांसद राणालाई भने केही लगाइएको थिएन। राणालाई अन्य थुनुवासँग नलिएर प्रहरीको छुट्टै गाडीमा ल्याइएको थियो।
थुनुवाहरूलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको छ। अदालत लैजादा मिश्रको पनि हत्कडी खोलियो भने सांसद राणासँगै छुट्टै गाडीमा लगियो।
अन्य थुनुवाहरूलाई भने प्रहरीको अर्को गाडीमा अदालतमा उपस्थित गराइएको छ।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजसंस्थापक्षधरहरूले गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु, तोडफोड, लुटपाट र आगजनी भएको थियो। सोही घटनापछि राणा र मिश्रसहित १०० बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
अन्यको पनि प्रहरीले खोजीकार्य गरिरहेको छ।