काठमाडौं । पत्रकार दिनेश गौतममाथि कुटपिट भएको छ।
शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन्।
राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेका थिए। पत्रकार गौतमले उक्त फोटो खिचेका थिए।
फोटो खिचेको र सिआइडी भन्दै पत्रकार गौतममाथि प्रदर्शनकारीहरू जाइलागेका थिए।
‘प्रहरीको बन्दुक खोसेर प्रदर्शनकारीले काँधमा बोकेर हिँडेका थिए, मैले त्यो फोटो खिचेको थिएँ,’ पत्रकार गौतमले सेतोपाटीसँग भने, ‘त्यसपछि प्रदर्शनकारीहरूले यो सिआइडी हो भन्दै तीनकुने चौरको डिलमा मलाई धकेलेर लडाए, अनि कुटपिट गरे।’
राजावादी प्रदर्शनकारीहरूले उनको मोबाइल खोस्नुका साथै कुटपिट गरेर खुट्टा भाँचिएका थिए।
आफूलाई कुटपिट गरेर केही परसम्म प्रदर्शनकारीले पछ्याइरहेको उनले जनाए।
दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। राजावादी प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको थियो।
राजावादी प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।