लोकनारायण सुबेदी
सीमित युद्ध बिराम र केही बन्धकहरुको जेल र हिरासतबाट रिहाइ पछि गाजामा अहिले पुनः इजारायली बमबाडीबाट त्रासद नरसंहारको अन्तहीन श्रृंखला शुरु भएको छ । बितेका दुइ तिन दिनमै ७०० भन्दा बढी प्यालेस्टिनीहरु त्यसमा पनि पूर्बबत अधिकांश महिला र बालबालिकाहरु मारिएका छन् । झण्डै डेढ बर्ष पहिला शुरु भएको यस पछिल्लो रक्तपातको क्रममा गाजको यो अहिलेको क्रूरतम नरहत्या सबैभन्दा ठूलो त्रासदी हो भनिदैछ । यस पटक त झन यस्तो दुर्दान्त मानब त्रासदी र आम हत्याप्रति बिश्वका मानिसहरुको मौनता पनि कम पीडादायक छैन ।
आफ्नो दोश्रो कार्यकालमा बिश्वको शान्ति दूत भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला इजरायलको नरसंहारको पक्षमा पूर्ण साथ दिइरहेका देखिन्छन् । उनले इजरायली प्रधानमन्त्री बेञ्जामेन नेतान्याहूलाई मनपरी तरीकाले निर्दोष र अबोध बाल बच्चाहरु र महिलाहरुको आम हत्यालाई हरियो झण्डा देखाइदिएका छन् । ट्रम्पलाई यूक्रेनमा सैनिकहरु मारिएकोमा त बहुत ठूलो चिन्ता छ तर गाँजमा ती निर्दोष र अबोध बाल बच्चा तथा महिलाहरुमाथि भइरहेको नरसंहारकारी अमानबीय अत्याचारको कुनै मतलब छैन । उनी चुपचाप छन् । त्यति मात्र होइन,ट्रम्प प्रशासनले इजरायलका बिरुद्ध अमेरिकाका बिश्वबिद्यालयहरुमा हुने बिरोध प्रदर्शन रोक्नका लागि अमेरिकामा समेत दमनकारी हतकण्डा अख्तियार गरेका छन् । यस क्रममा उच्च शिक्षण संस्थाहरुमा दिइने गरेको अर्थिक सहयोग अर्थात ‘फण्डिङ्ग’ पनि बन्द गरिन थालेको छ । अनि प्रदर्शनमा भाग लिने बिद्यार्थी नेताहरुलाई देशबाट बाहिर निकाल्ने कदम पनि चालिन थालेको छ । त्यसको चपेटामा कतिपय भारतीय मूलका बिद्यार्थीहरु पनि परेको बताइदैछ । आश्चर्यलाग्दो त के भनौं हुँदै आएको कुरा त अझ के हो भने प्यालेस्टिनीका बिरुद्ध इजरायललाई साथ दिने कुरामा अमेरिकाका दुबै प्रमख राजनीतिक दल रिपब्लिकन र डेमोक्रेट एक अर्कासँग होडबाजी गरिरहेको देखिन्छन् । यस अघिको जो बाईडेन प्रशासनले पनि इजरायललाई पूर्णरुपमासाथ र सहयोग दिएको थियो केवल अन्तर के थियो भने बाइडेन प्रशासन नागरिक ज्यान मालको सुरक्षा सुनिश्चित गरिनु पर्ने सल्लाह पनि दिने गर्दथ्यो । यथार्थतः बिपक्षमा रहेको डेमोक्रेटिक पार्टी इजरायलकाप्रति बढी नै अनुकूल थियो र रहेको छ । अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पुरानै नीतिलाई खुल्लारुपले अझ अघि बढाइरहेका छन् ।
हुन पनि राजनीतिक बिश्लेषकरुका अनुसार अमेरिकामा इजरायल समर्थक र सहयोगी लबी अत्यन्तै सबल रहेको बताइन्छ । यद्यपि त्यहाँ यहूदी मानिसहरुको संख्या एक करोडभन्दा पनि कम छ । कतिपय आलोचकहरुको त कतिसम्म गम्भीर आरोप छ भने अमेरिकाको राजनीति र अर्थब्यवस्थामाथि इजरायल समर्थक तत्वहरुको बर्चश्व र कब्जा छ । अर्को शब्दमा भनिदा त्यहाँको राजनीति र अर्थब्यवस्थमा इजरायली समर्थक ततवहरुको बर्चश्व र कब्जा रहेको र बन्धक बनाइएको छ । यस सम्वन्धमा अमेरिकालाई छोडिदिएर कुरा गर्ने हो भने पनि यस कुराको के नै औचित्य होला कि अमेरिका बाहेकको बाँकी दुनियाँ पनि अहिलेको यो क्रूर अमानबीय गाँजा त्रासदीप्रति चूपचाप र निष्कृयरुपमा बसेर रमितेजस्तो बनेको छ । बिश्वमा मुस्लिम देशहरुको संख्या गन्ने हो भने ५० भन्दा बढी नै होला । त्यसमा पनि धेरैजसो सुन्नी मुस्लिम देशहरु छन् ।पेलिस्टिनमा इज्रायली बर्बताको शिकार पनि अधिकांश सुन्नी मुस्लिमहरु नै बनिरहेका छन् । यस्तो घोर अत्याचारको अबस्थामा पनि बिश्वका सुन्नी मुसलमान समेत हात खुट्टा बाँधेजस्तो गरेर बसिरहेका देखिनु् निकै संबेदनशील प्रश्न छ । ती देशहरुले पेलेस्टिनीहरुमाथि भइरहेको नृशंश बर्बताका सम्वन्धमा बक्तब्यबाजी गर्न बाहेका कुनै अरु दबाबकारी र ठोस कदम उठाएका छैनन् । पेलेस्टिनीहरुको समर्थनमा बरु केवल शिया मुस्लिम प्रभाब भएका देश र संगठनहरुले भने केही कारबाही गरेका छन् ।तिनले नै सबैभन्दा बढी नोक्सानीको सामना पनि गर्नु परेको छ । त्यस क्रममा लेबनानको छापामार संगठन हिज्जबुल्लाहको पूरै नेतृत्व नै मारियो । सीरियामा बशर अल असदले आफ्नो सत्ता नै गुमाउनु परेको देखियो । सीरियामा जेहादी संगठन एचटिएस प्रभावकारी मानिन्छ । तर त्यसका लडाकुहरु इज्रायलको बिरुद्ध कारबाही गर्नुको साटो अल्पसंख्यक शिया अलबी र इसाई नागरिकहरुमाथि हमला गरिरहेको बिश्लेषकहरु औंल्याउँदछन् ।
ईरानले पनि आफ्नो सुरक्षा मामिलालाई लिएर नयाँ खतराको सामना गर्नु परिहेको छ । कतिपय समीक्षणहरुले त केसम्म पनि भनिरहेका छन् भने आउदा दिनमा अमेरिका र इजरायल मिलेर ईरानका बिरुद्ध सैनिक कारबाही गर्नेछन् । यूक्रेनको मामिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसकाप्रति जुन उदार रबैया देखाइरहेका छन् त्यसको कारण के पनि हुन सक्तछ भनिदैछ भने उनी ईराको सन्दर्भमा रुसलाई तटस्थ रहन राजी गराउन खोजिरहेका छन् ।
बृटिश साम्राज्यबादबाट स्वतन्त्रता हासिल गरेपछिदेखि यता भारत पेलेस्टिनका नागरिकहरुको स्वाधीनताको अधिकारको सबैभन्दा बढी हिमायती देखिने गरेको हो । यसका अतिरिक्त उसले धर्मनिरपेक्ष र उदारबादी मुस्लिम देशहरुसाँगको मित्रतलाई पनि बढाउदै आएको पनि देखिएको हो । तर भनिदैछ कि भू–राजनीति कारण र राष्ट्रिय हितहरुको सुरक्षाका कारणले समेत होला पछिल्लो समय उसले आफ्नो अडानमा खाशगरी पेलेस्टिनीहरुकै बिषयमा निकै फेरबदल ल्याउन थालेको छ । हुन पनि भारत निकै लामो समयदेखि बिद्रोही आतंबादको शिकार पनि बन्दै आएको दश पनि हो ।
यस परिप्रेक्षमा भारतलाई अधिकांश मुस्लिम देशहरुले खुलेर समर्थन पनि गरेका छैनन् । अर्कोतिर इजरायलले गुप्तचरी सूचनाहरुकासाथै भारतलाई आतंबाद बिरोधी प्रोद्योगिकी उपकरणहरु पनि उपलब्ध गराउने गरेको औल्याइदै आएको छ । यस प्रकारको बिरोधाभासपूबर्ण रणनीतिक यथार्थका कारण भारतको बर्तमान मोदी सरकार इजरायलको खुलेर आलोचना गर्नबाट बच्न थालेको छ । भारतका कतिपय दलले यो मोदी रणनीतिक बाध्यता भनेर समर्थन पनि गर्दा होलान् । तर धेरैले बिरोध नै गर्दछन् ।
अनि यो प्यालेस्टिनी मामिल केवल उनीहरुको न्याँय,स्वाधीनता र स्वतन्त्रताको बिषय मात्र भएर रहेको छैन । यो त आजको बिश्व मामिल बनिसकेको छ ।यसप्रति आँखा चिम्लनु या त्यसबाट दायाँ बाँया लाग्नु आफ्नै स्वाधीनता, स्वतन्त्रता र सम्प्रभूताप्रति पनि प्रश्न उठ्ने र साम्राज्यबादको पिछलग्गु बन्ने कुरा हुन जान्छ । त्यसैले प्यालेस्टिनमाथि भइरहेको जघन्य नरहत्या र घोर अमानबीय एबं त्रासद अत्याचारका बिरुद्ध बिश्वका सम्पूर्ण शान्तिकामी जनता एकजुट भएर आवाज उठाउनु र न्याय, स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज बुलन्द गर्नुको कुनै बिकल्प छैन ।