काठमाडौं । बारा, कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया चोकस्थित सडकमा मे.१ त ५०३३ नम्बरको ट्याक्टरले किचेर मधेश प्रदेश ०३-०२८ प ००२० नम्बरको मोटरसाइकलमा सवार पर्सा वीरगंज महानगरपालिका-२७ उदयपुर घुर्मी बस्ने सुनिल पटेलकी छोरी ३ वर्षीया वर्षा पटेलको बुधबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पा, पूर्वखोला गाउँपालिका-४ बलिपोखरास्थित सडकमा सिमल्दीबाट प्रभासतर्फ आउँदै गरेको लु.९१ प ३४८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४ सिमल्दी बस्ने ८५ वर्षीय डिल बहादुर खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । सिराहा, सिरहा नगरपालिका-२२ औरहा चोकस्थित सडकमा सन्हैठाबाट औरहातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका- २२ औरहा बस्ने ४५ वर्षीया दुखनी सदाको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-३ भरतपुरस्थित सडकमा हाल नम्बर नखुलेको रथगाडी र प्रदेश २-०२-००३ प ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइलमा सवार सोही नगरपालिका-९ बरमझिया बस्ने २८ वर्षीय अजय यादबको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल जनकपुरमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको स्थानीय चारनाथ पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
हाल फरार रथ गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ । काभ्रे, तेमाल गाउँपालिका-३ कुन्डोलस्थित सडकमा ना.४ ख ८८१७ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार सोही 4 गाउँपालिका-१ बस्ने ५० वर्षीय राम सिङ तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बस चालकलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


